आज राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी (आज) बुधबार राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाइ गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रूपमा सञ्चालन हुनेछन् । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए । उनका अनुसार आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । सूचना अधिकारी घिमिरेका अनुसार अत्यावश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ । साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ । सम्पूर्ण मतदाता तथा यात्रीहरूलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनुअगावै पुगिसक्न सूचना अधिकारी घिमिरेले आग्रह गरे ।
उनले भने, ‘आज राति १२ बजेबाट भोलि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्म अथवा भोलिको साँझ ५ बजेसम्म सवारी साधन आवागमनमा निषेध गर्ने गरी निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । सो बमोजिम अत्यावश्यक सेवाका केही सवारीसाधनबाहेक अन्य सवारी साधनहरू चलाउन नपाइने अवस्था हुन्छ । त्यसैले सम्पूर्ण मतदाता महानुभावहरू, आफ्नो गन्तव्यमा पुग्नुपर्ने यात्रीहरू सबैले आज राति १२ बजेसम्म पुगिसक्नुपर्ने हुन्छ । आज राति १२ बजेसम्म मात्रै सवारी साधन चल्ने बेहोरा म सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु । यो सवारी साधन निषेधको अवस्थामा तीन वटा प्रकारले सवारीसाधन सञ्चालन गर्न पाइन्छ । एउटा, अत्यावश्यक सेवाका सवारीसाधनहरू एम्बुलेन्स, दमकल, शववाहनजस्ता अत्यावश्यक सेवाका सवारी सञ्चालन गर्न पाइन्छ । त्यसैगरी कूटनीतिक नियोगका निलो प्लेट भएका सवारी साधनहरू पनि सञ्चालन गर्न पाइन्छ । निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचन आयोगले स्वीकृत गरेको कार्यविधि बमोजिम पास उपलब्ध गराएका सवारीसाधनहरू पनि यो अवधिमा सञ्चालन गर्न पाइनेछ ।’
आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।









