मध्यपुर्वकाे द्वन्द्वः नेपाली अर्थतन्त्रमा कस्तो पर्छ प्रभाव ?

काठमाडाैं । मध्यपुर्वमा विकसित विषम परिस्थितिले नेपाली अर्थतन्त्रबारे चिन्ता जगाइदिएकाे छ । अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण मध्यपूर्वका १६ देशमा सिर्जित परिस्थितिका कारण नेपालको पर्यटन, वैदेशिक रोजगार, व्यापार, रेमिट्यान्स र पेट्रोलियम क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ ।
युद्धका कारण परनिर्भर नेपालको अर्थतन्त्रमा जोखिमको संकेत दिइरहेको छ । यसले लयमा फर्किरहेकाे नेपाली अर्थतन्त्रमा फेरी चुनाैति थपिदिएकाे विज्ञहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेल पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताउँछन् । ‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भूराजनीतिक तनाव, बाढी–पहिरो र अहिले इरान–इजरायल द्वन्द्वले फेरी अर्थतन्त्र प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौति थपेको छ ।’
उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अर्थतन्त्रलाई लयमा आउने बाटोमा थियो । बैंकिङ्ग प्रणलीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएपनि मध्यपूर्वको द्वन्द्वले फेरि चुनौती थपेको खरेलको भनाइ छ । यसले रेमिट्यान्स र बाह्य मुलुकमा नेपालीहरूको रोजगारीमासमेत असर पर्न सक्ने जोखिम रहेकाले यसलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनको धारणा छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको पारवहन समितिका सभापति एवम् पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले अहिले भएको द्वन्द्वका कारण पेट्रोलियम पदार्थकाे उत्पादन घटेर जाने र आपूर्ति श्रृंखलामा पनि समस्या पैदा गर्ने बताउँछन् ।
‘समय समयमा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ, विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ,’ घिमिरले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।’
वाणिज्य विद् रवि शंकर सैंजुले मध्यपूर्व तथा पश्चिम् एसियामा हाल चर्किएको द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । ‘पश्चिम एसियाली मुलुकहरुमा भइरहेको द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’








