ट्रम्पको चेतावनीः ‘इरानले आक्रमण नगर्दा नै राम्रो’

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई इजरायल तथा अमेरिकी लक्ष्यहरूमाथि प्रत्याक्रमण नगर्न कडा चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्, “इरानले आज अहिलेसम्मकै कडा आक्रमण गर्न लागेको भनेको छ । उनीहरूले त्यसो नगर्दा नै राम्रो होला । यद्यपि उनीहरूले त्यसो गरेमा हामीले अहिलेसम्म नदेखिएको शक्तिका साथ प्रहार गर्ने छौँ ।”
उनको उक्त अभिव्यक्ति इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युको बदलामा अमेरिकी सैन्य अड्डा र इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएपछि आएको हो ।
आईआरजीसीले जारी गरेको वक्तव्यमा भनिएको छ, “इस्लामिक गणतन्त्र इरानका सशस्त्र फौजहरूको इतिहासमै अधिनस्थ भूभागहरू तथा अमेरिकी आतङ्कवादी अखडाहरूमा सबैभन्दा भयावह आक्रमण अब शुरू हुने छ ।”
दुवै पक्षबाट आएको कडा अभिव्यक्तिले क्षेत्रीय तनाव थप चर्किएको संकेत दिएको छ । विश्लेषकहरूका अनुसार प्रतिशोध र प्रतिआक्रमणको चक्र गहिरिँदै गएमा मध्यपूर्व व्यापक द्वन्द्वतर्फ धकेलिन सक्ने जोखिम बढेको छ ।








