युएई र बहराइनमा पनि इरानको मिसाइल हमला, मध्यपूर्वमा तनाव बढ्यो

काठमाडौँ । इरानले संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनमा पनि मिसाइल हमला गरेको छ ।
सिएनएनका अनुसार शनिबार दिउँसो युएईको आकाशमै हानेको मिसाइल युएईले नष्ट गरेको थियो । तर मिसाइलका टुक्राले एउटा घरमा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । युएई रक्षा मन्त्रालयका अनुसार मृतक एसियाली नागरिक थिए । युएईले यस आक्रमणलाई इरानको “कायरतापूर्ण काम” भनेको छ ।
विश्लेषकहरूले यस घटनाले खाडी क्षेत्रमा तनाव अझ बढाउने संकेत गरेको बताएका छन् । यसै दिन इरानले बहराइनमा पनि मिसाइल हानेको थियो ।
गत शनिबार बिहान डोनाल्ड ट्रम्पले इरानविरुद्ध विशेष सैन्य कारबाही सुरु भएको घोषणा गरेका थिए । अमेरिका र इसराइलले इरानमा हवाई हमला गरेपछि इरानले उत्तर स्वरूप मध्यपूर्वका विभिन्न देशहरूमा अमेरिकी सैन्य अड्डालाई निशाना बनाउँदै हवाई आक्रमण गरेको छ ।
इरानले यसअघि नै अमेरिका आक्रमणमा उत्रिए त्यसको जबाफ दिने चेतावनी दिएको थियो । यो घटनाले मध्यपूर्वमा राजनीतिक र सुरक्षा तनाव थप उजागर गरेको छ ।








