इरानले कतारमा गर्‍यो मिसाइल आक्रमण

एजेन्सी । इरानले कतारको दोहास्थित अमेरिकी हवाई सेनाको अल उदैद सैन्य अड्डा लक्ष्य गरेर शनिबार दिउँसो मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सिएनएनका अनुसार दोहामा विस्फोटका आवाजहरू सुनिएको थियो । कतारको हवाई प्रतिरक्षा प्रणालीले इरानी मिसाइललाई नष्ट गरेको जनाइएको छ । अल उदैद अमेरिकी मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।

गत जुन महिनामा अमेरिकाले इरानमा आक्रमण गर्दा पनि इरानले यही सैन्य अड्डालाई निशाना बनाएको थियो । कतारी रक्षा मन्त्रालयले शनिबारको आक्रमण सफलतापूर्वक रोकेको जनाएको छ ।

इरानले कतारसँगै संयुक्त अरब इमिरेट्स, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई पनि हवाई आक्रमण गरेको छ । यस घटनाले मध्यपूर्वमा क्षेत्रीय तनाव बढाएको छ ।

मध्यपूर्वका धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् भने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले उडान रद्द गरेका छन् । अधिकांश देशहरूले आफ्ना नागरिकहरूलाई सुरक्षित रहन निर्देशन दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि विशेष सैन्य अपरेसन सुरु भएको बताएका छन् । यसैबीच, बेन्जामिन नेतन्याहूले इरानमा नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् । ट्रम्पले पनि इरानमा जनतामार्फत शासनसत्ताको नियन्त्रण आउन सक्ने अवस्था सिर्जना हुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =