आइएमई र टिक्मोबीच सम्झौता : साउदी–नेपालबिच डिजिटल रेमिटेन्स सहकार्य विस्तार

काठमाडौँ। नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक कम्पनी IME र साउदी अरेबियाको डिजिटल वालेट कम्पनी TIQMO बिच डिजिटल कारोबार विस्तारका लागि सम्झौता सम्पन्न भएको छ। माघ २७ गते रियादमा आयोजित विशेष कार्यक्रममा आइएमईका अध्यक्ष हेमराज ढकाल र TIQMO का प्रबन्ध निर्देशक अब्दुल अजीज अज्लान अलअज्लानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा साउदीका लागि नेपालका कार्यवाहक राजदूत सिर्जना अधिकारी, आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा दुवै कम्पनीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। दुवै पक्षले यो सहकार्यलाई केवल व्यावसायिक सम्झौता मात्र नभई नेपाल र साउदीबिच डिजिटल वित्तीय सहकार्यको नयाँ अध्यायका रूपमा व्याख्या गरेका छन्।
साउदी अरेबिया ‘भिजन २०३०’ अन्तर्गत नगदरहित अर्थतन्त्रतर्फ उन्मुख भइरहेका बेला नेपालमा पनि डिजिटल वित्तीय पहुँच विस्तार भइरहेको सन्दर्भमा यो साझेदारीलाई महत्त्वपूर्ण मानिएको छ। सहकार्यपछि साउदीमा रहेका नेपालीहरूले TIQMO एपमार्फत आइएमई सेवा प्रयोग गरी सुरक्षित र सहज रूपमा नेपाल पैसा पठाउन सक्नेछन्।
सम्झौतासँगै आइएमईले “Tiqmo मार्फत आइएमई गरौँ, उपहार जितौँ” योजना सार्वजनिक गरेको छ। पौष २१ देखि चैत १७ सम्म सञ्चालन हुने योजनाअन्तर्गत साउदीमा रहेका नेपालीहरूले TIQMO एप प्रयोग गरी आइएमईमार्फत रकम पठाउँदा विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन्।
आइएमईले हाल देशभर २२५ आइएमई सेन्टर तथा ७७ जिल्लामा करिब १२ हजार सब–एजेन्ट र बैङ्क तथा वित्तीय संस्थामार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको जनाएको छ।








