साम्बाको उपचारका लागि भायानेटको पाँच लाख सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) यतिबेला खेल जीवनकै सबैभन्दा कठिन मोडबाट गुज्रिरहेकी छन् । घुँडामा लागेको गम्भीर चोटका कारण मैदानबाहिर रहेकी साम्बाको उपचार तथा खेल जीवनको पुनरागमनलाई सहज बनाउन इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत देशको नाम उच्च राख्न सधैँ अहोरात्र खटिने साम्बाको शल्यक्रिया र त्यसपछिको करिब आठ महिना लामो ‘रिह्याब’ प्रक्रिया निकै चुनौतीपूर्ण छ । यस लामो उपचार प्रक्रियाका लागि ठूलो आर्थिक स्रोतको समेत आवश्यकता पर्ने देखिन्छ । ‘थाकेको हो, हारेको छैन’ भन्ने उनको अदम्य साहस र उच्च मनोबललाई सम्मान गर्दै भायानेटले आफ्नी ब्रान्ड एम्बेसडरसमेत रहेकी साम्बालाई पुनः खेल मैदानमा फर्काउन सहयोगको हात अघि बढाएको हो ।
साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले उनको ‘रिकभरी’ को हरेक चरणमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ । उनी पूर्ण रूपमा स्वस्थ भएर चाँडै मैदानमा फर्किने र देशको नाम पुनः रोशन गर्ने कुरामा आफूहरू विश्वस्त रहेको भायानेटले जनाएको छ ।
आफ्नी ब्रान्ड एम्बेसडरलाई परेको अप्ठ्यारो परिस्थितिमा कम्पनीले देखाएको मानवीय तत्परताले खेलकुद जगत्मा एउटा सकारात्मक सन्देश दिएको छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने कम्पनीको मूल मन्त्रलाई यसले थप चरितार्थ गरेको छ ।








