अष्ट्रेलियाको थन्डरडोम प्रोफेसनल च्याम्पियनसिपमा तीन नेपाली बक्सर प्रतिस्पर्धामा

 

सिड्नी। नेपालका तीन जना व्यावसायिक बक्सर आगामी मार्च महिनामा अष्ट्रेलियामा आयोजना हुने प्रतिष्ठित थन्डरडोम बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

मार्च १३ मा आयोजना हुने उक्त प्रतियोगितामा विकास राना, महेन्द्र बहादुर चन्द र अनिल कुमार पुन मगरले आ–आफ्नो तौल समूहमा अष्ट्रेलियाली खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

६९ केजी तौल समूहमा पूर्वी रुकुमका विकास रानाले डेविन केलीसँग प्रतिस्पर्धा गर्नेछन्। म्याक्स बक्सिङ प्रमोसनमार्फत लामो समयदेखि व्यावसायिक बक्सिङमा सक्रिय राना अनुभवी खेलाडीका रूपमा चिनिन्छन्।

त्यस्तै ६४ केजी तौल समूहमा राष्ट्रिय च्याम्पियन महेन्द्र बहादुर चन्दले तराना सुबारीसँग भिड्नेछन्। अन्तर्राष्ट्रिय स्तरमा पदक जितिसकेका चन्दका लागि यो प्रतिस्पर्धा महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

६१ केजी तौल समूहमा दाङका अनिल कुमार पुन मगरले अष्ट्रेलियाली च्याम्पियन एन्थोनीसँग प्रतिस्पर्धा गर्नेछन्। पूर्व जुनियर राष्ट्रिय स्वर्ण पदक विजेता पुनले बङ्गलादेश र दुबईमा समेत प्रतिस्पर्धा गरिसकेका छन्। यो खेल उनको व्यावसायिक करियरका लागि महत्त्वपूर्ण मोड बन्न सक्ने अपेक्षा गरिएको छ।

उक्त प्रतियोगिता नेपाल प्रोफेसनल बक्सिङ र म्याक्स बक्सिङ प्रमोसनको संयुक्त आयोजनामा हुन लागेको हो। ब्रिसबेनस्थित ‘स्पाइसी मम्मी’का सञ्चालक ए. श्रेष्ठले नेपाली खेलाडीहरूलाई प्रायोजन गरेका छन्। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पदाधिकारीहरूले पनि खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै मनोबल बढाएका छन्।

यस सहभागिताले अन्तर्राष्ट्रिय व्यावसायिक बक्सिङ क्षेत्रमा नेपालको पहिचान थप मजबुत हुने विश्वास गरिएको छ।

यसैबिच, महेन्द्रनगर, धनगढीका प्रतिभाशाली बक्सर महेन्द्र बहादुर चन्दले अष्ट्रेलियामै आयोजना हुने अर्को व्यावसायिक प्रतियोगितामा पनि ६३ केजी तौल समूहमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने जानकारी दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =