बिरामी लिएर दिल्ली उडेको विमान दुर्घटना, सवार सबैको ज्यान गयो

काठमाडौं । भारतको झारखण्डस्थित चतरा जिल्लामा सोमबार साँझ एक एयर एम्बुलेन्स दुर्घटना हुँदा विमानमा सवार सातै जनाको मृत्यु भएको छ । राँचीबाट बिरामी लिएर नयाँ दिल्लीतर्फ उडेको रेडबर्ड एयरवेजको ‘बीचक्राफ्ट सी ९०’ विमान दुर्घटनामा परेको हो ।

चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दुर्घटनाग्रस्त विमान दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित थियो । विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई स्वास्थ्य सहयोगी र दुई चालक दलका सदस्य (क्याप्टेन) सवार थिए । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा कसैलाई पनि जीवितै उद्धार गर्न सकिएन ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार उक्त विमान साँझ ७ बजेर ११ मिनेटमा राँचीको बिरसा मुण्डा विमानस्थलबाट प्रस्थान गरेको थियो । उडानका क्रममा कोलकाता एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क स्थापित भएपछि विमानका चालकले खराब मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन) को अनुमति मागेका थिए । तर, साँझ ७ बजेर ३४ मिनेट जाँदा वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुगेपछि विमानको सञ्चार र रडार सम्पर्क एकाएक टुटेको थियो ।

अन्तिम पटक ७ बजेर २२ मिनेटमा वाराणसी रडारमा देखिएको उक्त विमान त्यसपछि वाराणसी वा लखनउ एटीसीको सम्पर्कमा नआएको डीजीसीएले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने बिरामी ४१ वर्षीय सञ्जय कुमार हुन् । आगलागीको एक घटनामा उनको शरीर ६३ प्रतिशत जलेर अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई एयर एम्बुलेन्स मार्फत दिल्ली लैजाँदै गरिएको थियो । विमानमा उनीसँगै सहयोगी विकास गुप्ता, चिकित्सक सचिन कुमार मिश्र, स्वास्थ्य सहयोगीहरू अर्चना देवी र धुरु कुमार तथा क्याप्टेनद्वय विवेक विकास भगत र सवराजदीप सिंह रहेका थिए ।

राँची विमानस्थलका निर्देशक विनोद कुमारले खराब मौसम दुर्घटनाको प्रारम्भिक कारण हुनसक्ने अनुमान गरे । यद्यपि, दुर्घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्र खुल्ने उनले बताए । घटनाको छानबिनका लागि आधिकारिक प्रक्रिया सुरु गरिसकिएको छ ।

दुर्घटनामा परेको रेडबर्ड एयरवेज सन् २०१८ मा अक्षय कुमारले स्थापना गरेको कम्पनी हो । यसले सन् २०१९ देखि गैर–अनुसूचित उडान तथा एयर एम्बुलेन्सको अनुमति प्राप्त गरी २४ सै घण्टा मेडिकल इभ्याकुएसन सेवा प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =