निर्माणाधीन हिमालयन फुड कम्पनीमा नेपाली–चिनियाँ कामदारबीच झडप, ७ घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन तथा निर्यात उद्योग) मा नेपाली र चिनियाँ कामदारबीच सोमबार बिहान झडप भएको छ । आपसी विवादले उग्र रूप लिएपछि २ नेपाली र ५ चिनियाँ कामदार गरी ७ जना घाइते भएका छन् ।
सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–४ साहानस्थित उक्त कम्पनीमा कार्यरत कामदारहरूबीच कामबाट निकालिएको विषयलाई लिएर विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा झडपमा परिणत भएको हो ।
घाइते नेपाली कामदारहरूमा मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जन र उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोकर्ण कटुवाल छन् । बम्जनको दाहिने आँखा र दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ । कटुवालको टाउकोमा चोट लागेको छ ।
चिनियाँ घाइतेहरूमा ३८ वर्षीय मिस्टर याङ (कान र टाउकोमा चोट), ४५ वर्षीय याङ हाइबो (बायाँ हातमा चोट), ४० वर्षीय छ्याङ छोङ (छातीमा चोट), ४६ वर्षीय चुजेन (टाउको र मुखमा चोट) तथा ३१ वर्षीय लेउसेन्सी (टाउकोमा चोट) छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।
सबै घाइतेहरूको प्राथमिक उपचार मध्यम स्वास्थ्य केन्द्र कपिलाकोटमा भइरहेको छ । केहीलाई आवश्यकतानुसार थप अस्पताल रिफर गरिएको छ ।
घटनापछि कम्पनी परिसरमा केही समय तनावपूर्ण स्थिति रहे पनि प्रहरीको सक्रियतामा अहिले स्थिति नियन्त्रणमा आएको एसपी सुवेदीले बताए । घटनाको कारण र थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।










