पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गरे । उनले डिस्कोर्डबाट गठित सरकारले जेन–जी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति जनाए ।

उनले भने ‘प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाबाट आएको वक्तव्यलाई सुनेर लोकतन्त्र नै समस्यामा छ भन्ने भाष्य बनाइनु हुँदैन । अहिले निर्वाचनको समयमा घटेका घटनाको आधारमा चिन्ता र चासोका विषयहरूलाई अन्यथा पनि लिनु हुँदैन । आज यो लोकतन्त्रमा समस्या छ भने तत्कालीन राजाभन्दा पनि अहिलेको अराजकता र त्यसको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुन काम भइरहेको छ । यसबाट नै लोकतन्त्र खतराम छ जस्तो अनुभूति हुन्छ । काँग्रेस–एमालेको सरकारको क्रममा भएको जेनजी आन्दोलनमा जुन किसिमको क्षति भयो । त्यसको भोलिपल्ट हाम्रा सम्पदा जले, कयौँले मृत्युवरण गरे ।’

उनले आउने निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी पनि गरे । नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेको कारण जेन–जी विद्रोह भएको बताए । आगामी निर्वाचन असत्य र गलत प्रवृत्तिविरुद्ध जनताको निर्णायक अभिव्यक्ति हुने उनको भनाइ छ । पछिल्लो समय देशमा देखिएको प्रवृत्तिलाई परास्त गर्न र संविधान तथा व्यवस्थाको संरक्षण गर्ने राजनीतिक शक्तिलाई स्थापित गर्न निर्वाचन महत्त्वपूर्ण अवसर भएको उनको तर्क छ । नेता पराजुलीले मतदातालाई लोकतान्त्रिक मूल्य, सत्य र संवैधानिक व्यवस्थाको पक्षमा उभिन आग्रहसमेत गरे ।

उनले भने ‘गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका हुन् । असत्यको प्रवृत्तिका विरुद्धमा जनता जागेका हुन् । त्यसो भएको कारण यो निर्वाचन असत्यलाई पराजित गर्नको निम्ति र मूलतः ओलीहरूको प्रवृत्तिहरूलाई हराउनका निम्ति निर्वाचन भइरहेको हो भन्ने कुरा हामीले छुटाउनु हुँदैन । जुन प्रवृत्ति पछिल्लो समय देशमा देखा पर्यो यो निर्वाचनबाट त्यो प्रवृत्ति परास्त हुन्छ । यो निर्वाचनबाट संविधान र व्यवस्थाको संरक्षण गर्ने राजनीतिक दलहरूलाई निर्वाचनबाट जनताले स्थापित गर्नेछन् भन्ने ठानेको छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले जेनजी छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको विषयमा सरकार, छानबिन समिति र एमालेबीच बार्गेनिङ भएको हुन सक्ने आशङ्का व्यक्त गरे । भट्टराईले निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेताको नाम आउने सम्भावना रहेको भन्दै त्यसै कारण प्रतिवेदन रोकिनुको आशङ्का रास्वपाले गरेको बताए ।

भट्टराईले भदौ २४ को विध्वंसभन्दा पहिले भदौ २३ आएको विषयलाई नबिर्सन आग्रह गर्दै केही राजनीतिक दलले जेनजी विद्रोहलाई आतंकवादको संज्ञा दिएकोप्रति आपत्ति जनाए ।

उनले भने ‘जेन–जी छानबिन समितिको रिपोर्ट सार्वजनिक नहुनुमा कतै बार्गेनिङ त भइरहेको छैन भन्ने शंका रास्वपालाई छ । यो सरकार, छानबिन समिति र एमालेको बीचमा कुनै बार्गेनिङ पो छ कि रु निर्वाचनभन्दा अगाडि छानबिन प्रतिवेदन आयो भने तिनै नेता देखिने भएको कारण प्रतिवेदन सार्वजनिक भइरहेको छैन । एउटा झण्डा जलाएको कुरामा त यस्तो गरिरहेका छन् उनीहरूकै नेतालाई जेल पुर्यायो भने त निर्वाचन हुन के दिन्थे रु त्यसकारण भाद्र २२ पहिला आएको भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । तर धिक्कार छ यो देशमा यस्ता पार्टीहरू पनि छन् जसले जेनजी विद्रोहलाई आतङ्कवाद देख्छ ।’

उनले निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =