निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैन: प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन् ।
गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उनले केही तत्त्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताएका हुन् ।
उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरे । अझै पनि केही उम्मेद्वारहरुले आफूलाई निर्वाचनको बारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिए ।
उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न सक्ने उल्लेख गरे । अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनको भनाई छ । निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गरे ।
राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ । नयाँ पुराना सबै शक्तिहरूले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ । नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकाङ्क्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उनले बताए ।
निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे । साथै, वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उनले दिए ।
उनले भने ‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागी नचाहिने हल्लाहरू गर्न सक्छन्, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन् । अब निर्वाचनको वातावरण बिथोलिने वातावरण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ । कि निर्वाचनको विकल्प देखाएर नेपालमा सुशासनको प्रवाह यसरी हुन्छ, भनेर वैकल्पिक मार्ग देखाउनुस् । अनि त्यो बेलामा हामी के रहेछ भनेर सोच्न सकुँला तर निर्वाचन चाहिँ बिथोल्न सक्दैनौ । तोकिएको मितिमा तोकिएको समयमा फागुन २१ गते बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान प्रक्रियाको समय छ, त्यो सम्पन्न हुन्छ । निर्वाचन हुन्छ, निर्वाचनको विकल्प निर्वाचन नै हो । निर्वाचनलाई बिथोल्ने प्रयास कहीँबाट पनि नगरियोस् । यो मैले भनिरहँदा निर्वाचन आयोगको कमजोरी पनि नसोचियोस् । निर्वाचन आयोगले निर्वाचन गर्छ । राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका कार्यकर्ताहरू सबै आ–आफ्नो ठाउँमा निर्वाचन प्रचारप्रसारमा गईराख्नुभएको छ । उहाँहरूले पनि निर्वाचन बाहेक अर्को वैकल्पिक मार्ग देखिरहनुभएको छैन । भदौ २७ गतेभन्दा अगाडीको शक्ति र भदौ २३ र २४ को विद्रोहपछि उठेको अर्को नयाँ शक्ति यी दुवै शक्तिको संयोजन पनि निर्वाचन बाहेक अरू केही देख्नुभएको छैन । उहाँहरू निर्वाचनमा लागिराख्नु भएको छ । अब यसरी निर्वाचन गरेर नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य राखेर, आकाङ्क्षा लिएर बसिरहेका व्यक्ति र व्यक्तिहरूलाई कसैले निर्वाचन बिथोलिन्छ, अलिकति धमिलो पानीमा माछा मार्न पाइयो भने यसो केही समय खेल्न पाइन्छ भन्ने होला, त्यो हुँदैन । त्यो गर्न पाइँदैन, त्यस्ता कार्यहरू सरकारले वर्जित गर्ला, निर्वाचन आयोगले पनि नजिकैबाट नियालीरहेका छौँ । यो यो कमजोरी भो सरकार यसलाई सच्याएर निर्वाचनको वातावरण बनाउन भन्छौँ ।’
उनले निर्वाचन आचारसंहिता पालना गर्न पनि सम्बन्धित सबैसँग आग्रह गरे । केही सञ्चारमाध्यामहरुले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उनले मत सर्वेक्षण नगर्न पनि आग्रह गरे । आफूले पटकपटक मत सर्वेक्षण नगर्न आग्रह गरेपनि केही सञ्चारमाध्यामहरुले नटेरेको उनको गुनासो छ । उनले आचारसंहिता विपरीतको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिए ।








