रास्वपा निर्वाचन बिथोल्न खोज्दैछः एमाले

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन बिथोल्न लागेको आरोप लगाएको छ ।

शनिवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा बिथोल्न तिर लागेको आरोप लगाएको हो ।

एमालेको निर्वाचन प्रचार समितिका संयोजक मीनबहादुर शाहीले निर्वाचन बिथोल्नको लागी रास्वपाले एमालेको झण्डा, प्रचार सामाग्री जलाउने तथा घृणा फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाए ।

उनले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको बताए । उनले शान्ति–सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको आरोप लगाए ।

शाहीकाअनुसार देशभर एमालेको आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि तीव्र बनेका छन् । उनले यस्ता कार्यलाई चुनावी द्वन्द्वतर्फ देशलाई धकेल्ने गम्भीर षड्यन्त्र भएको बताए ।

शान्ति–सुरक्षाको विषयलाई विश्वसनीय बनाउन उनले सरकारसँग माग गरे । उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउने बीचको जनमत सङ्ग्रहका रूपमा लिएको उल्लेख गर्दै कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण सार्वजनिक गर्ने र मतदातालाई प्रभाव पार्ने प्रयास भएको आरोप लगाए ।

उनले भने ‘फागुन २१ गतेको चुनावलाई एमालेले देश बनाउने र जलाउने बीचको जनमत संग्रहको रूपमा लिएको छ । कथित नयाँको नाममा भोट फर चेन्जको भाष्य विक्री हुन छाडेपछि अहिले देशभर अभद्र व्यवहार, सर्वेक्षणको नाममा जनमतलाई प्रभाव पार्नेगरि फेक सर्वेक्षण परिणाम सार्वजनिक गर्ने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । चुनावी परिणाम आफ्नो पक्षमा आउने सम्भावना नदेखेपछि निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्र स्वरूप देशका विभिन्न भागमा हिंसा भड्काउने कामको थालनी भएको छ । समुदाय समुदायबीच द्वन्द्व सिर्जना गर्ने प्रयास गरिएको छ । जसको उहादरहण रौतहटको गौरमा अनिश्चित कालिन कर्फ्युको आदेश जारी गरिएको छ । यो घटना स्वच्छ, निर्भिक र भयरहित ढंगले मतदान गर्ने आम मतदाताको अधिकारको लागि प्रिय हुन सक्दैन । हामीले विगतदेखि नै स्वच्छ, निर्भिक र भयरहित ढंगले मतदान केन्द्रसम्म पुग्ने आम मतदाताको नैसर्गिक अधिकारलाई संरक्षण गर्ने र त्यसलाई ग्यारेन्टी गर्ने काम सरकारको हो । अहिले पनि हामी यो कुरा जोडदार ढंगले उठाउन चाहन्छौँ । देशमा शान्ति सुरक्षा, अमनचयन काय हुन नसकेको कारण चुनाव भयरहित हुनेमा एमाले अझै विश्वस्त हुन सकेको छैन । तसर्थ चुनावका लागि सहज वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ । चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० चुनाव भाँड्नको लागी देशको विभिन्न जिल्लाहरूमा दलहरूको झण्डा, चुनाव चिन्ह जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले चुनाव भाँड्न खोजेको पुष्टि हुन्छ ।’

एमालेले स्वच्छ, निष्पक्ष र भयरहित मतदानको वातावरण बनाउन सरकारसँग माग गरेको छ । आम मतदाताको निर्भीक रूपमा मतदान केन्द्रसम्म पुग्ने नैसर्गिक अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएको एमालेको भनाइ छ । निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उल्लेख गर्दै एमालेले होली पर्वको अवसरमा अमुक दलको चुनाव चिन्ह अंकित टिसर्ट वितरण गरिएको आरोप लगाएको छ । आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग उदासीन देखिएको पनि एमालेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =