‘जनतासँग डराएका छैनौँ, साढे १४ लाख कार्यकर्ता मैदानमा छन्, एमालेको जित सुनिश्चित छ’

काठमाडौँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको वातावरण सन्त्रासमय बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सरकारले शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन नसकेको र रास्वपाबाट एमालेको नेतृत्व र चुनाव चिन्हमाथि प्रहार भइरहेको बताएका हुन् ।

प्रचार विभाग प्रमुख शाहीले निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भयभीत र सन्त्रासमय बन्दै गएको बताए ।

‘सरकारले शान्ति सुरक्षाको वातावरणलाई विश्वासयोग्य बनाउन सकेको छैन ।’ उनले भने ‘हजारौँ कैदीबन्दी र लुटिएका हातहतियार बाहिरै रहनुले अवाञ्छित क्रियाकलाप बढ्ने हाम्रो पूर्वानुमान पुष्टि हुँदै गएको छ ।’

उनले रौतहटको गौरमा लगाइएको अनिश्चितकालीन कफ्र्यूले आम मतदातामा त्रास फैलाएको उल्लेख गर्दै निर्भीक ढंगले मतदान गर्ने अधिकार ग्यारेन्टी गर्न सरकारसँग माग गरे ।

रास्वपा माथि चुनाव भाँड्न खोजेको आरोप

शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्न खोजेको आरोप लगाए ।

‘कथित नयाँको नाममा ‘भोट फर चेन्ज’ को भाष्य विक्री हुन छाडेपछि रास्वपाले अभद्र व्यवहार र हिंसा भड्काउने काम सुरु गरेको छ ।’ शाहीले भने ।
एमालेका प्रमुख नेताहरू उम्मेदवार रहेका क्षेत्रमा गएर झण्डा जलाउने, नेतृत्वप्रति घृणा फैलाउने र ‘फेक’ सर्वेक्षणमार्फत जनमत प्रभावित पार्ने काम रास्वपाबाट भइरहेको दाबी उनले गरे ।

आचारसंहिता उल्लङ्घन र निर्वाचन आयोगको उदासीनता

निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भइरहेको भन्दै एमालेले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएको छ । होली पर्वको अवसर पारेर तराई–मधेसका जिल्लाहरूमा रास्वपाका सभापति र नेताहरूको तस्बिर अङ्कित टिसर्टहरू वितरण गरिएको भन्दै शाहीले आपत्ति जनाए ।

‘चाडपर्वलाई दल विशेषको स्वार्थमा दुरुपयोग गरिनु निन्दनीय छ ।’ उनले भने ‘यस्ता गतिविधिमा निर्वाचन आयोग उदासीन देखिनुले हामीलाई सशङ्कित तुल्याएको छ ।’

नेता र उम्मेदवारमाथि लक्षित आक्रमण

एमालेका उम्मेदवार र नेताहरूमाथि भौतिक र मानसिक आक्रमण भइरहेको शाहीले जानकारी दिए । बारामा उम्मेदवार ज्वाला कुमारी साहको प्रचार सामग्री तोडफोड गरिएको र दाङ–२ मा महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रमा झण्डा जलाउने तथा अभद्र व्यवहार गर्ने काम भएको उनले बताए । यस्ता हर्कतहरू तत्काल बन्द गर्न र उम्मेदवारहरूको सुरक्षा सुनिश्चित गर्न एमालेले जोडदार माग गरेको छ ।

‘देश बनाउने र जलाउने बीचको जनमत सङ्ग्रह’

शाहीले फागुन २१ को निर्वाचनलाई एमालेले ‘देश बनाउने र देश जलाउने’ शक्तिहरू बीचको जनमत संग्रहको रूपमा लिएको बताए । एमाले जस्तोसुकै षड्यन्त्र भएपनि सर्वाधिक लोकप्रिय र पहिलो पार्टी बन्ने दाबी गरे । फागुन २१ पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा मुलुक अघि बढ्ने बताए ।

उनले भने ‘जस्तोसुकै षड्यन्त्र भएपनि नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय र पहिलो पार्टी बन्नेछ । फागुन २१ पछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा मुलुक अघि बढ्नेछ ।’

एमालेले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने तर यसको नाममा कुनै दल विशेषलाई फाइदा पुग्नेगरी गरिने भ्रामक प्रचारको विपक्षमा रहेको स्पष्ट पारेको छ । उनले सम्पूर्ण पत्रकार र नागरिक समाजलाई स्वच्छ र निष्पक्ष निर्वाचनका लागि भूमिका खेल्न अपिल समेत गरे ।

बहुमतको दाबी र चुनावी आत्मविश्वास

शाहीले आगामी निर्वाचनमा एमाले सर्वाधिक लोकप्रिय पार्टी बन्ने र बहुमतसहितको सरकार बनाउने दाबी गरे । उनले पार्टीको सुदृढ संगठन र अनुभवी नेतृत्वका कारण जनताले एमालेलाई नै रोज्ने विश्वास व्यक्त गरे । शाहीकाअनुसार अहिले देशभर एमालेका साढे १४ देखि १५ लाख नेता कार्यकर्ता चुनावी मैदानमा छन् ।
‘ताप्लेजुङदेखि दार्चुला र झापादेखि कञ्चनपुरसम्म हाम्रा कार्यकर्ता जनताको घरदैलोमा पुगिरहेका छन् ।’ उनले भने ‘जनताको सर्वाधिक मन पराएको पार्टी आमसभा गर्न वा जनतासँग जान डराउने प्रश्नै हुँदैन ।’

उनले १७ गतेसम्मका लागि तय गरिएका रणनीतिक अभियानहरूले एमालेको जित सुनिश्चित गर्ने बताए ।

अराजकता र तोडफोडको आरोपको खण्डन

विपक्षी दलका झण्डा जलाएको वा तोडफोडमा उत्रिएको भन्ने आरोपलाई शाहीले पूर्णतः गलत भएको बताए । उनले एमाले बहुलवादसहितको लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी भएको स्पष्ट पारे ।

‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि दशकौँ सङ्घर्ष गरेका छौँ, त्यसको मूल्य हामीलाई थाहा छ । त्यसैले हामी कुनै पनि राजनीतिक दलमाथि आक्रमण वा हिंसा गर्ने कुरा सोच्न पनि सक्दैनौँ ।’ उनले भने ।

निर्वाचन आयोगको भूमिका र आचारसंहिता

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग उदासीन बनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

दाङमा एमाले महासचिवमाथि भएको आक्रमणको सन्दर्भ जोड्दै उनले भने ‘सूर्य चिन्ह र हाम्रा नेताहरूमाथि भएको आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन आयोगले खुट्टा कमाउनु हुँदैन। अनुगमन र कारबाहीको दायरा फराकिलो बनाउनुपर्छ ।’

युवा लक्षित १० जिबी डाटा

१८ देखि २८ वर्षका युवाहरूका लागि मासिक १० जिबी डाटा उपलब्ध गराउने घोषणा कार्यान्वयन गर्न ठुलो आर्थिक भार नपर्ने शाहीको तर्क छ । एमालेले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन नभई ‘प्रजातान्त्रिक नियमन’ गर्न खोजेको उनले स्पष्ट पारे ।

शान्ति सुरक्षामा सरकारको संवेदनशीलतामाथि प्रश्न

शाहीले निर्वाचनको वातावरण भयरहित बनाउन सरकार असफल भइरहेको आरोप लगाए । रौतहटमा जारी कफ्र्यू, बारामा पार्टीकी उम्मेदवार ज्वालाकुमारी साहको प्रचारमा अवरोध र दाङका घटनाहरूले सरकार आफैँ निर्वाचनको वातावरण बिगार्न खोजेको हो कि भन्ने आशंका उब्जाएको उनले बताए ।

‘हामी चाहन्छौँ निर्वाचन स्वच्छ र निष्पक्ष होस्, तर सरकार शान्ति सुरक्षाप्रति जिम्मेवार देखिएन’ उनले भने ।

पार्टी परित्यागको चर्चा: ‘भ्रम मात्रै’

केही नेताहरूले पार्टी छोडेको चर्चालाई उनले ‘एमालेप्रतिको जनलहरबाट आत्तिएर सिर्जना गरिएको भ्रम’ को संज्ञा दिए । रसुवाका जनार्दन ढकाल र काठमाडौँका रामवीर मानन्धरको सन्दर्भमा बोल्दै उनले भने ‘उनीहरू पहिले नै अनुशासनको कारबाहीमा परेका वा औपचारिक संरचनामा नरहेका व्यक्ति हुन्। एमालेको मूल संगठनबाट कोही पनि बाहिरिएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =