निर्वाचनको मुखमा रास्वपामा धक्का, बारा संगठन विभाग प्रमुखले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका चौधरी यसपटक पनि उम्मेदवारका आकांक्षी थिए । जिल्ला सभापति चन्दन स्वर्णकारका अनुसार उम्मेदवार चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेका हुन् ।
‘उहाँ २५ हजार शुल्क तिरेर पार्टीको आन्तरिक निर्वाचनमा समावेश हुनुभएको थियो । तर अन्तिममा पार्टीले विधि विपरीत उम्मेदवार चयन गरेकोप्रति असन्तुष्ट हुनुहुन्थ्यो,’ स्वर्णकारले भने ।
चौधरीले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशका २५ उम्मेदवारमध्ये सर्वाधिक मत ल्याएका थिए । चौधरी समुदायको बाक्लो बसोबास रहेको क्षेत्रमा उनको बहिर्गमनले निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने स्वर्णकारको भनाइ छ ।
जिल्ला कमिटीका सहसचिवसमेत रहेका चौधरी राष्ट्रिय एकता दल मा प्रवेश गरेका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै बाराका तीन वटा निर्वाचन क्षेत्रमा बाहिरबाट व्यक्तिहरू ल्याएर टिकट दिइएको भन्दै रास्वपाका संस्थापक तहका नेताहरू धमाधम पार्टी छाडिरहेका छन् । संगठन विभाग प्रमुख चौधरी रास्वपा गठनको पहिलो दिनदेखि नै सक्रिय रहँदै आएका थिए ।
यसअघि बारा क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महीढिमाई नगरपालिकाका सचिव प्रदीप गुप्ताले समेत पार्टी परित्याग गरिसकेको जिल्ला सभापति स्वर्णकारले जानकारी दिए ।
रास्वपाले बाराका चारमध्ये तीन क्षेत्रमा नयाँ व्यक्तिलाई उम्मेदवार बनाएको छ। जनता समाजवादी पार्टीबाट आएका चन्दन सिंह बारा–२ मा उम्मेदवार छन् ।
त्यस्तै बारा–३ मा कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’का केन्द्रीय सदस्य अरविन्द सिंह तथा बारा–४ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट पर्सा–१ (१) मा निर्वाचित रहबर अन्सारीलाई उम्मेदवार बनाइएको छ । बारा–१ मा भने रास्वपाका प्रदेश सहमहामन्त्री गणेश धिमाल उम्मेदवार रहेका छन् । धिमाल अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।








