नयाँ संघीय संसद भवन चैत १ भित्रै हस्तान्तरण गर्न मन्त्री इङनामको निर्देशन

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा.कुमार इङनामले निर्माणाधीन नयाँ संघीय संसद भवनको काम चैत १ गतेभित्र सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् ।

भवन निर्माणको पछिल्लो अवस्थाबारे स्थलगत अनुगमन गरेपछि मन्त्री इङनामले निर्धारित समयमै काम सक्न निर्देशन दिएका हुन् । अनुगमनका क्रममा उनले कामको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै चैत १ गतेभित्र प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र सचिवालय भवनहरू जसरी पनि हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार सिभिलतर्फको अधिकांश काम सकिए पनि फिनिसिङको काममा ढिलाइ भएको देखिएको छ । त्यसैले दक्ष जनशक्ति थप्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले बताए । मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीले बारा र रौतहटबाट थप कामदार ल्याएर कामलाई तीव्रता दिएको जानकारी गराइएको छ ।

निर्माणका क्रममा केही प्राविधिक चुनौती पनि देखिएको मन्त्री इङनामको भनाइ छ । चीनबाट ल्याउनुपर्ने केही सामग्री क्रिसमस र अन्य बिदाका कारण ढिलो भएको ठेकेदार पक्षले जनाएको छ । ती सामग्री फागुन २५ गतेसम्म आइपुग्ने र जडान गरिने आश्वासन दिइएको छ ।

यस्तै, भारतबाट ल्याउनुपर्ने करिब ३० मिटर लामो इलेक्ट्रोनिक प्यानल तथा ४ मेगावाट क्षमताको विद्युतीय प्रणाली जडानको काम पनि बाँकी रहेको छ । वीरगञ्ज भन्सारमा रोकिएका सामग्री आउने क्रम सुरु भइसकेकाले चैतको सुरुवातमै भवन पूर्ण रूपमा तयार हुनेमा मन्त्रीले विश्वास व्यक्त गरेका छन् ।

मन्त्री इङनामले चैत १ गतेदेखि विशेषगरी सेन्ट्रल लबी, प्रतिनिधि सभा, क्यान्टिन तथा सांसदहरूको कार्यकक्ष हस्तान्तरण हुनेमा आफू आशावादी रहेको बताए । नयाँ भवन हस्तान्तरण भएपछि संघीय संसदका बैठकहरू आफ्नै अत्याधुनिक भवनमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =