जन्ती र नवाज पढ्नेबीचको विवादले गौर तनावग्रस्त, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं । विवाहको बाजा बजाएको विषयमा उत्पन्न विवादले उग्र रूप लिँदा रौतहटको सदरमुकाम गौर नगरपालिका-६ सबगढा गाउँ तनावग्रस्त बनेको छ । बिहीबार रातिदेखि सुरु भएको दुई पक्षीय विवाद शुक्रबार बिहान झडपमा परिणत भएपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्थानीय स्रोतका अनुसार सबगढामा बिहीबार राति हिन्दू समुदायको विवाहको जन्ती बाजागाजासहित निस्किएको थियो । सोही समयमा गाउँकै मस्जिदमा मुस्लिम समुदायको नवाज चलिरहेको र बाजाले अवरोध पुर्याएको भन्दै दुई पक्षबीच भनाभन सुरु भएको थियो । सामान्य विवादले उग्र रूप लिँदा मुस्लिम समुदायका केही व्यक्तिले डिजे समूहमाथि हातपात गरेपछि स्थिति थप बिग्रिएको हो ।
रातको विवादले शुक्रबार बिहान पुनः निरन्तरता पाएको छ । बिहानैदेखि दुवै पक्षबीच ढुङ्गा हानाहान सुरु भएपछि सबगढा गाउँ रणमैदान जस्तै बनेको थियो । अवस्थालाई थप बिग्रिन नदिन प्रशासनले उक्त क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । घटनास्थलमा नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीसहितको टोली पुगेर सुरक्षा कमाण्ड सम्हालेको उनले बताए ।
प्रजिअ भुसालले यस्तो सामाजिक सद्भाव खल्बलिने घटना हुनु दुःखद रहेको बताए । उनले भने, ‘अहिले स्थिति नियन्त्रणमै छ र हामी दुईपक्षीय वार्तामार्फत समस्या समाधानको पहल गरिरहेका छौँ ।’








