उखान-टुक्का र व्यङ्ग्य छाडेर ‘शालीन’ सुनिए ओली…

काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिचान प्रायः विपक्षीमाथि तिखो व्यङ्ग्य, उखान-टुक्का र आक्रामक वाकपटुताका लागि हुने गर्छ । सार्वजनिक मञ्चहरूमा निर्धक्क र आत्मविश्वासी सुनिने ओली बिहीबार भने बिल्कुलै फरक र शालीन अवतारमा प्रस्तुत भए ।

आसन्न निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित समारोहमा ओलीको पुरानो शैली गायब थियो । उनी न विपक्षीमाथि खनिए, न त उनले दर्शक हँसाउने उखानकै प्रयोग गरे । सात जना युवा उम्मेदवारलाई बायाँ र छ जनालाई दायाँ राखेर उभिएका पूर्वप्रधानमन्त्री ओली निकै गम्भीर र जिम्मेवार सुनिन्थे ।

प्रजातन्त्र दिवस (७ फागुन) को अवसर पारेर घोषणापत्र सार्वजनिक गर्दै ओलीले यो मितिले राष्ट्रियता र लोकतन्त्र दुवैको स्मरण गराउने उल्लेख गरे । २०७९ को निर्वाचनपछि मुलुक राजनीतिक अस्थिरताको चक्रव्यूहमा फसेको विश्लेषण गर्दै उनले विगतमा एमालेले राष्ट्रिय हित र स्वाभिमानका लागि जनमत मागेको स्मरण गरे । जेनजी आन्दोलनका कारण सत्ताच्युत भएपछिको राजनीतिक परिदृश्यलाई टिप्पणी गर्दै उनले भदौ २३ र २४ को घटनालाई ‘अनिश्चयको बाक्लो तुवाँलो’ को संज्ञा दिए । उनले भने, ‘आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर आवेग र आक्रोश छ भने अर्कातिर विवेक र जिम्मेवारी छ ।’

ओलीका चार गम्भीर प्रश्न
सम्बोधनका क्रममा ओलीले वर्तमान राजनीतिक घटनाक्रमलाई लिएर चारवटा गम्भीर प्रश्नहरू अघि सारेका छन्, जसलाई उनले ‘कन्सिप्रेसी थ्योरी’ नभई प्रणाली रक्षाका लागि खोजिनुपर्ने जवाफको रूपमा चित्रण गरे:-

  • देश साँच्चै बिग्रिएको थियो कि बिग्रेको ‘काल्पनिक भाष्य’ खडा गरेर युवामा आक्रोश फैलाइयो ?
  • भदौ २३ को शान्तिपूर्ण प्रदर्शनमा कसले घुसपैठ गर्‍यो र युवाहरूलाई निषेधित क्षेत्रतर्फ धकेल्यो ?
  • भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध ? सुरक्षाकर्मी र निजी सम्पत्तिमाथि किन निशाना बनाइयो ?
  • प्रदर्शनकारीका कुनै स्पष्ट माग नहुँदाहुँदै प्रणालीमाथि धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ?

मुलुकमा व्याप्त निराशा अन्त्य गर्न ठूला दलहरू (कांग्रेस र तत्कालीन माओवादी केन्द्र)सँग गरिएको सहकार्यको उनले बचाउ गरे । यद्यपि, सम्बोधनका क्रममा उनले कुनै पनि दलको नाम भने उच्चारण गरेनन् । ठूला दल मिल्दा संकट आएको भन्ने आरोपको खण्डन गर्दै उनले भने, ‘संकट त एकता फुटाउन र अस्थिरताको चक्र फेरि चलाउन निम्त्याइएको हो ।’

ओलीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सिंहदरबार, अदालत र संसद् भवन जस्ता संरचनाहरूको पुनर्निर्माण गर्ने र निजी क्षेत्रको गिरेको मनोबल उकास्ने जिम्मेवारी अब एमालेको काँधमा आएको बताए । ‘हामी निर्माणका पक्षमा छौं, उत्तेजनाको पक्षमा होइनौं,’ उनले स्पष्ट पारे । एमालेले आफ्नो चुनावी घोषणापत्रमा तत्काल कार्यान्वयन गरिने ११ बुँदे प्राथमिकता, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भहरूलाई अघि सारेको छ ।

निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गर्दै ओलीले पहिलो मन्त्रिपरिषद् बैठकबाटै समयसीमा तोकेर ती कामहरू अघि बढाउने संकल्प व्यक्त गरेका छन् । विगतको जस्तो ‘स्टन्ट’ र उत्तेजनाभन्दा टाढा रहेर एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा स्पष्ट रहेको ओलीको भनाइ थियो । आगामी निर्वाचनलाई उनले देश बनाउने र भत्काउने दुई सोचबीचको निर्णायक संघर्षको रूपमा चित्रण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =