डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बने भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा डोजर चल्ने बताएका छन् ।

बिहीबार कर्णालीमा आयोजित वाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले रास्वपा सरकार आए गरिब बस्तीमा डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाए । ‘डोजर चल्यो भने सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीले चिन्ता गर्न पर्दैन,’ उनले भने ।

लामिछानेले रास्वपाले कसैलाई बेघरबार बनाउने काम नगर्ने दाबी गरे । विस्थापित नगरी व्यवस्थापन गर्ने नीति लिइने उनको भनाइ थियो । भूमिहीन समस्या समाधानका लागि शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्ने प्रतिबद्धता जनाउँदै उनले उक्त आयोगमा पार्टीका कारिन्दा नभई स्वतन्त्र व्यक्तिहरू रहने बताए । आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गरिने उनले स्पष्ट पारे ।

कानुनले अन्याय गरेको महसुस भए संसदबाट संशोधन गरेर भए पनि अधिकार दिलाइने उनले बताए । ‘कानुनले जे भन्छ, हामी त्यही गर्छौं । यदि कानुनले थिचोमिचो गरेको रहेछ भने संसदबाट फेरेर भए पनि अधिकार दिलाउँछौं,’ उनले भने ।

रास्वपा प्रश्नहरूको सामना गर्न डराएको आरोपको खण्डन गर्दै उनले जनताका प्रश्नको जवाफ घरदैलोमै दिएको जिकिर गरे । ‘प्रश्न सोध्ने ठेक्का कसैले लिनु पर्दैन, जनताले घरघरमा प्रश्न सोधेका छन्, हामीले उत्तर दिएका छौं,’ उनले भने, ‘अब केवल जवाफ दिने होइन, समाधान दिने समय आएको छ ।’

पाँच वर्षे स्थायी सरकारमार्फत विधिको शासन, कानुनी राज्य र सुशासन स्थापना गर्ने प्रतिबद्धता उनले जनाए । ढंग पु¥याएर विनाप्रतिशोध देशलाई अघि बढाउने उनले बताए ।

परराष्ट्र नीतिका विषयमा पनि अनावश्यक चिन्ता लिन नपर्ने उल्लेख गर्दै उनले असंलग्न परराष्ट्र नीतिअनुसार सबै देशसँग समान व्यवहार गरी सम्बन्ध विस्तार गरिने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =