सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक प्रविधिको तीव्र विकाससँगै गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा नागरिकलाई सुसूचित गराउने कार्यमा सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने बताए ।

उपराष्ट्रपति यादवले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता संवैधानिक मूल्य–मान्यताको संरक्षणमा प्रतिबद्ध रहन राससलाई निर्देशन दिए । आग्रह र पूर्वाग्रहबाट मुक्त भई रूपान्तरित सोचका साथ राष्ट्रिय हितमा कार्य गर्न उनले सञ्चारकर्मीहरूलाई आह्वान गरे ।

सरकारी स्वामित्वको संस्था भएकाले सरकारी नीतिहरूको सही विश्लेषण गरी राष्ट्र विकासको गतिलाई तीव्रता दिन राससको भूमिका अहम रहने उनको भनाइ थियो । ‘राजनीतिक र आर्थिक जीवनका विभिन्न पक्षहरूको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिताको दायित्व हो,’ उनले भने, ‘संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानता र सुशासनको पक्षपोषणमा रासस खरो उत्रिन सक्नुपर्छ ।’

नयाँ सूचना प्रविधिको विकासले पत्रकारितामा संख्यात्मक फड्को मारेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा व्यावसायिक आचरणलाई थप परिष्कृत र परिमार्जित गर्नुपर्नेमा जोड दिए ।

विविधता र समावेशिताको सम्मानस्वरूप विभिन्न मातृभाषामा समाचार सामग्री उत्पादन सुरु गर्नु ऐतिहासिक कदम भएको उल्लेख गर्दै उनले यसले नागरिक अपनत्व बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले राजनीति केन्द्रित समाचारसँगै शिक्षा, स्वास्थ्य तथा प्रदेशस्तरीय जनसरोकारका विषयलाई पनि समान प्राथमिकता दिन राससलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =