भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।

जेन–जी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन काँग्रेस तयार रहेको उनको भनाइ छ । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरूसँग क्षमा पनि मागे ।

सभापति थापाले २००७, २०४६ र २०६३/६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताए । उनले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सकेमात्र त्यसप्रति गौरव गर्न सकिने भन्दै उनले जेनजी युवाको भावनाअनुसार पार्टी अगाडि बढ्ने प्रतिज्ञा गरे ।

उनले भने ‘भदौ २३ गते सरकारको तर्फबाट गल्ती भएकै हो । हामी पनि त्यो समय सरकारमा थियौँ । आफ्नो कमजोरीको जिम्मा हामीले लिनुपर्छ । हामी लिन्छौँ । हामी त्यो आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूसँग क्षमा माग्छौँ । हामी २००७, २०४६, २०६३/६४ सालको आन्दोलनको गौरव गर्छौँ । भदौ २३ र २४ मा जुन माग लिएर युवाहरू आन्दोलनमा आए । ती मागहरू पूरा गर्न सके मात्र हामी त्यसप्रति गौरव गर्छौँ ।’

उनले अगामी दिनहरूमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =