जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका मूल्य र मान्यतामा सम्झौता गरिँदैन: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता र दलहरूबीचको सहकार्य अनिवार्य रहेको उल्लेख गरेका छन् ।

भदौ २४ को घटनालाई राष्ट्रिय अस्तित्वमाथिको प्रहार भन्दै उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र शान्ति सुव्यवस्था कायम गर्न एमाले नेतृत्वको आवश्यकता औँल्याएका हुन् ।

अध्यक्ष ओलीले पछिल्लो समय राजनीतिक दलहरूबीच देखिएको सहकार्यलाई अस्थिरता अन्त्य गर्ने प्रयासको रूपमा व्याख्या गरेका छन् । ठुला दलहरू मिल्नु संकटको कारण नभई बरु अस्थिरताको चक्र रोक्न गरिएको कदम भएको उनको दाबी छ । विगतका घटनाक्रमहरूको विश्लेषण गर्दै ओलीले भदौ २४ गतेको घटनालाई नेपालको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमणको संज्ञा दिए ।

उनले अपराधी तत्त्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएर देशविरुद्ध अपराध गरिरहेको आरोप लगाउँदै त्यस्ता शक्तिहरूलाई समयमै चिन्नुपर्नेमा जोड दिए । नयाँ भनिएका पात्रहरूले स्थानीय र संघीय तहमा आफ्नो क्षमता देखाइसकेको भन्दै उनले एमालेको ट्रयाक रेकर्ड सुशासन र विकासका लागि प्रमाणित भएको बताए ।

उनले सिंहदरबार, अदालत र संसद भवन लगायतका क्षतिग्रस्त संरचनाहरूको तत्काल पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी रहेको बताए । निजी र व्यावसायिक क्षेत्रको गिरेको मनोबल उकास्न र समाजमा शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउन एमालेले ठोस योजना र अनुशासनका साथ काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनैपनि सम्झौता गर्न नसकिने स्पष्ट पारे ।

ओलीले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि उत्तेजनामा नभई निर्माणको पक्षमा उभिन सबैलाई आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =