प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रियसभा अध्यक्ष/उपाध्यक्षले दिए शुभकामना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरेले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा संविधानको मर्मबमोजिम शासन व्यवस्था सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। प्रजातन्त्र दिवसका अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश दिँदै उनीहरूले लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउनुमै यो दिवसको सार्थकता हुने उल्लेख गरे।
अध्यक्ष दाहालले लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था भएको बताए। उनले भने, “राष्ट्रिय सभाले नीतिनिर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास, नागरिक अधिकारहरूको संरक्षण तथा राष्ट्रिय हितका विषयहरूमा निरन्तर क्रियाशील रहँदै आएको छ।”
उनले २००७ सालको राजनीतिक परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशको अग्रगामी परिवर्तनका लागि योगदान गर्ने योद्धाहरूप्रति सम्मान प्रकट गरे। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको पालना गर्न सबैलाई ध्यान दिन आग्रह गर्दै यस दिवसले समृद्धिका लागि एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरे।
यसैगरी, उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन हुनुपर्नेमा जोड दिइन्। उनले नागरिकका आधारभूत मौलिक हक तथा मानव अधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक वितरण गर्नुपर्ने बताइन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भ जोड्दै उनले भनिन्, “निर्वाचनबाट देशले सुदृढ लोकतन्त्र र जनजीविकाको सवालमा खरो उत्रन सक्ने नेतृत्व चयन गर्नेछ। तर, कतिपय अवस्थामा निर्वाचनबाटै तानाशाहको जन्म हुन सक्ने खतरा पनि रहने भएकाले जनता सतर्क रहनुपर्छ।”
उनले १०४ वर्षे निरङ्कुश राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने सहिदहरूको स्मरण गरिन्। वर्तमान संविधानले समानुपातिक समावेशी सिद्धान्त, सङ्घीयता, धर्मनिरपेक्षता र पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभूत विशेषतालाई अङ्गीकार गरेको उनले उल्लेख गरिन्। प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई लोकतान्त्रिक व्यवहार आत्मसात् गर्ने प्रेरणा दिने उनले बताएकी छिन्।








