बंगलादेश निर्वाचनमा झडप, बिएनपीका पूर्वनेताको मृत्यु

काठमाडौं । बंगलादेशमा बिहीबार भइरहेको आम निर्वाचनका क्रममा दुई समूहबीच झडप हुँदा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ ।
खुलना सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्रमा भएको झडपमा बिएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । उनी खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव थिए ।
घटना बिहीबार बिहान भएको हो। खुलना महानगर प्रहरी (केएमपी) का आयुक्त मोहम्मद जहीदुल हसनले बीबीसी बांग्लासँग कुरा गर्दै घटनाको पुष्टि गरेका छन् । उनका अनुसार बिहान दुवै पक्षबीच भनाभन भएको थियो । त्यस क्रममा कोचीको स्वास्थ्य अवस्था बिग्रिएको र अस्पताल लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
खुलना–२ निर्वाचन क्षेत्रका बिएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार बिहान करिब ८ बजे आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमातका पक्षमा प्रचार गर्न थालेपछि विवाद सुरू भएको थियो । कोचीले उनलाई रोकेपछि धक्का–मुक्का भएको र सोही क्रममा उनी रूखमा ठोक्किएको दाबी मोनीले गरेका छन् । त्यसपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ ।
कोचीलाई खुलना सिटी मेडिकल कलेज अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए । प्रहरीले भने उनी रूखमा ठोक्किएर घाइते भएका थिए वा थिएनन् भन्नेबारे स्पष्ट जानकारी नदिएको जनाएको छ ।
विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको १८ महिनापछि बंगलादेशमा निर्वाचन भएको हो । देशभरका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको बंगलादेशबाट प्रकाशन हुने अनलाइन ‘डेली स्टार’ले जनाएको छ । निर्वाचन आयोगका अनुसार मतदान अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुनेछ ।
मतदानका लागि १२ करोड ७७ लाख मतदाता रहेका छन् । तीमध्ये ६ करोड ४८ लाख पुरुष र ६ करोड २८ लाख महिला छन् ।
प्रतिनिधि सभा सदस्य चयनसँगै जुलाई नेसनल चार्टरसम्बन्धी जनमत संग्रहमा पनि मतदान भइरहेको छ । उक्त चार्टरले आगामी वर्षहरूमा शासन प्रणालीको दिशा तय गर्ने अपेक्षा गरिएको छ । यसमा संविधान संशोधन, कार्यपालिका–व्यवस्थापिका–न्यायपालिकाबीच शक्ति सन्तुलन मजबुत बनाउने व्यवस्था, निर्वाचन प्रणाली सुधार, मानवअधिकार र जवाफदेहिता सुनिश्चित गर्ने प्रावधान तथा भ्रष्टाचार नियन्त्रण र संस्थागत पारदर्शिता अभिवृद्धि गर्ने विषय समावेश छन् ।








