अहिले मर्निङ वाक गर्नु भनेको रोगलाई निम्तो दिनु हो : डा. रक्षा गौतम

काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर खतराको बिन्दुमा पुगेको छ । लामो समयदेखि वर्षा नहुनु र जाडोयाममा हावाको बहाव कम हुनुले उपत्यकाको आकाश तुवाँलोले ढाकिएको छ । विश्वव्यापी र्‍याङ्किङमा काठमाडौं प्रदूषित शहरहरूको सूचीमा माथिल्लो स्थानमा उक्लिरहँदा यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा देखिन थालेको छ ।

यसै सन्दर्भमा अल्का अस्पताल, पुल्चोककी फिजिसियन डा. रक्षा गौतमले वायु प्रदूषणले मानव स्वास्थ्यमा पारिरहेको गम्भीर असर, विशेषगरी ‘मर्निङ वाक’ मा सजगता अपनाउन आग्रह गरिन् ।

काठमाडौंको बिग्रँदो हावा र स्वास्थ्य संकट
पछिल्लो समय काठमाडौंको आकाश सफा देखिन छाडेको छ । घाम राम्रोसँग नलाग्ने र वरिपरि तुवाँलो लागेजस्तो देखिनु मौसमको खराबी मात्र नभएर वायु प्रदूषणको डरलाग्दो रूप हो । डा. रक्षा गौतमका अनुसार सामान्यतया एअर क्वालिटी इन्डेक्स ५० देखि १०० को बीचमा हुनुलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर काठमाडौंमा जाडो मौसममा यो सूचकाङ्क बढेर १५० भन्दा माथि र कहिलेकाहीँ त २०० सम्म पुग्ने गरेको छ ।

डा. गौतम भन्छिन्, ‘हामीले आकाशतिर हेर्दा पनि अलि फोहोर देखिन्छ । वास्तवमा वायु प्रदूषणको कारण यस्तो देखिएको हो । अस्वस्थकर हावाले बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासका बिरामीलाई बढी असर गर्ने गरेको छ ।’

प्रदूषण बढ्दा श्वास फेर्न कठिनाइ हुने, खोकी लाग्ने, आँखा र घाँटी पोल्ने तथा सानो काम गर्दा पनि अत्यधिक थकाइ लाग्ने जस्ता लक्षणहरू बिरामीमा देखिने गरेका छन् ।

जाडोको ‘मर्निङ वाक’ : स्वास्थ्यका लागि कि रोगका लागि ?
धेरै मानिसहरू स्वास्थ्य राम्रो बनाउन बिहान हिँड्ने (मर्निङ वाक) गर्छन् । तर डा. गौतमले अहिलेको प्रदूषित मौसममा बिहानको हिँडाइ घातक हुन सक्ने चेतावनी दिएकी छिन् । उनकै अनुसार जाडो मौसममा रगतका धमनीहरू स्वाभाविक रूपमा खुम्चिएका हुन्छन् । त्यसमाथि बिहानको समयमा प्रदूषणका कणहरू जमिनको सतह नजिक थुप्रिएर बसेका हुन्छन् ।

‘बिहानको समयमा फोहोर तथा प्रदूषण जमिनमा थुप्रिएर बसेको हुन्छ । हामीले लिने श्वासमा त्यही प्रदूषण आउने भएको कारण हामी बिहानको समयमा बाहिर निस्कनु हुँदैन ।’ डा. गौतम सुझाव दिन्छिन् ।

प्रेसर, सुगर र मुटुका बिरामीहरू बिहान चिसो र प्रदूषणमा निस्किँदा धमनी थप साँघुरिने र रगत सञ्चालनमा अवरोध आउने जोखिम हुन्छ । यसले मस्तिष्कघात र हृदयघातको जोखिम ह्वात्तै बढाउँछ । उनले भनिन्, ‘बाहिर हिँड्दा वा मर्निङ वाकमा निस्किँदा मानिस बाटोमै ढलेको खबरहरू हामीले यही मौसममा बढी सुन्ने गरेका छौँ ।’

डा. गौतमले सुझाव दिँदै भनिन्, ‘मर्निङ वाक नै गरिरहनुभएको छ भने पनि यो दुई महिना घरमै सीमित राख्न मेरो आग्रह छ । यसले स्वास्थ्यलाई राम्रो असर गर्ने हाम्रो विश्वास छ ।’

ओपिडीमा देखिने डरलाग्दा लक्षणहरू
अस्पतालको ओपिडीमा आउने बिरामीहरूमा प्रदूषणको प्रत्यक्ष असर देखिन थालेको छ । एअर क्वालिटी इन्डेक्स १७५ भन्दा माथि जान थालेपछि अस्पतालमा बिरामीको चाप बढ्ने गरेको उनकै अनुभव छ । बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने तर कारण पत्ता नलाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र कहिल्यै ‘फ्रेस’ महसुस नहुने गुनासो गर्ने गरेका छन् ।

सबैभन्दा चिन्ताजनक कुरा त खोकी र खकारमा देखिने परिवर्तन हो ।

डा. गौतमले भनिन्, “बिहान खोक्दा बाहिर आउने खकारमा कालो कणहरू देखिने तथा धेरैको रगत नै निस्कियो कि भनेर डराउने खालका लक्षणहरू देखिने गरेका छन् ।”

दम र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भएका बिरामीहरूलाई यो मौसममा सास फेर्न निकै कष्टकर हुने गर्छ । दीर्घकालीन रूपमा यसले फोक्सोको क्यान्सर, स्ट्रोक, मधुमेह र मस्तिष्क सम्बन्धी रोगहरूको जोखिम समेत बढाउँछ ।

जोखिम समूह र बच्ने उपाय
वायु प्रदूषणले सबैलाई असर गरे पनि ‘सेन्सेटिभ ग्रुप’ अर्थात् बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीहरू उच्च जोखिममा हुन्छन् । डा. गौतमले यो समूहलाई जाडोको दुई महिना विशेष ख्याल गर्न र सकेसम्म घरभित्रै बस्न सुझाव दिएकी छिन् ।

प्रदूषणबाट बच्न डा. गौतमले निम्न सुझावहरू दिएकी छिन् :
१. घरभित्रै बस्ने : बिहान र साँझको अत्यधिक प्रदूषण हुने समयमा बालबालिका र वृद्धवृद्धालाई बाहिर ननिकाल्ने ।
२. मास्कको प्रयोग : अत्यावश्यक कामले बाहिर निस्किनु परेमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने ।
३. एअर प्युरिफायर : आर्थिक अवस्थाले भ्याएसम्म घरमा हावा शुद्धीकरण गर्ने मेसिनको प्रयोग गर्ने ।
४. चिकित्सकको परामर्श : बालबालिका वा दीर्घरोगीमा समस्या देखिए तुरुन्त विशेषज्ञको सल्लाह लिने ।

वातावरणीय जिम्मेवारी र राज्यको दायित्व
वायु प्रदूषण केवल स्वास्थ्य समस्या मात्र नभएर वातावरणीय समस्या पनि हो । डा. गौतमले व्यक्तिगत र सरकारी दुवै तवरबाट प्रदूषण नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिएकी छिन् । घर वरपरको वातावरण स्वच्छ राख्ने, रुख बिरुवा रोप्ने र जथाभावी आगो नबाल्ने जस्ता कार्यहरू नागरिक स्तरबाट हुनुपर्छ ।

उनले सवारी साधनको प्रयोगमा पनि सचेतता अपनाउन आग्रह गरिन् ।

‘घरमा दुई–तीन वटा सवारी साधन छन् भने यो समयमा नचलाउने, सकेसम्म विद्युतीय सवारी साधनको प्रयोग गर्ने र धेरै धुवाँ फाल्ने पुराना सवारी साधन विस्थापन गर्नुपर्छ,’ उनको भनाइ छ ।

डा. गौतमले सरकारलाई पनि प्रदूषण नियन्त्रणमा कडा कदम चाल्न आग्रह गरिन् । भीडभाड कम गर्ने र अनावश्यक धुवाँ फाल्ने सवारी साधनलाई कडाइका साथ नियन्त्रण नगरेसम्म यो समस्या समाधान नहुने उनको तर्क छ ।

वर्षा नभएसम्म र हावा नचलेसम्म काठमाडौंको प्रदूषण घट्ने सम्भावना कम छ । तसर्थ यो विषम परिस्थितिमा ‘मर्निङ वाक’ रोकेर भए पनि आफू र आफ्नो परिवारलाई प्रदूषणको गम्भीर असरबाट जोगाउन डा. रक्षा गौतमले विशेष अपील गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =