बंगलादेशमा शेख हसिना सत्ताच्युतपछि पहिलो मतदान

काठमाडौं । बंगलादेशमा शेख हसिनाको १५ वर्षे शासन अन्त्य भएपछिको पहिलो आमनिर्वाचन बिहीबार बिहानैदेखि सुरु भएको छ । सन् २०२४ को जुलाईमा भएको विद्यार्थी नेतृत्वको रक्तपातपूर्ण विद्रोहले हसिनालाई सत्ताच्युत गरेपछि मुलुकमा पहिलो पटक लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको हो ।

यसपटकको निर्वाचन बंगलादेशको इतिहासमा निकै फरक र अर्थपूर्ण मानिएको छ । दशकौँपछि पहिलो पटक बंगलादेशका दुई शक्तिशाली महिला राजनीतिज्ञ शेख हसिना र खालिदा जियाको सक्रिय सहभागिता बिना नै चुनाव हुँदै छ । हसिनाको दल ‘अवामी लीग’ लाई निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । अहिलेको प्रतिस्पर्धा मुख्य गरी बंगलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) र जमात-ए-इस्लामीबीच हुने देखिएको छ । जमात-ए-इस्लामीले विद्रोहबाट आएका नयाँ राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल गरेको छ ।

मतदानका क्रममा मतदाताले दुई वटा मतपत्र प्राप्त गरेका छन् । पहिलो सेतो मतपत्रमार्फत उनीहरूले आफ्नो क्षेत्रको सांसद छान्ने छन् भने दोस्रो गुलाबी मतपत्र राष्ट्रिय जनमत सङ्ग्रहका लागि प्रयोग भइरहेको छ । अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक परिवर्तनका पक्ष वा विपक्षमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । प्रस्तावित सुधार प्याकेजमा संसद्मा महिलाको प्रतिनिधित्व बढाउने, प्रधानमन्त्रीको कार्यकालको सीमा तोक्ने र १०० सदस्यीय माथिल्लो सदनसहितको द्विसदनात्मक व्यवस्था लागू गर्ने जस्ता महत्त्वपूर्ण विषय समेटिएका छन् । यदि जनमत सङ्ग्रह पारित भएमा आगामी दिनमा हुने संवैधानिक संशोधनलाई माथिल्लो सदनको बहुमतले स्वीकृत गर्नुपर्ने छ ।

करिब १२ करोड मतदाता रहेको यस निर्वाचनको नतिजा भोलिसम्ममा आउने अपेक्षा गरिएको छ । निर्वाचनलाई लक्षित गरी देशभरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । ढाकामा रहेकी बीबीसी संवाददाता योगिता लिमयले लामो समयपछि बंगलादेशमा मतदानअघि नतिजाको ठोस भविष्यवाणी गर्न नसकिने अवस्था रहेको बताए । उनका अनुसार यसपटक मतदाताहरूले आफूसँग वास्तविक विकल्प रहेको महसुस गरेका छन् ।

गत जुलाईमा भएको ‘जेनजी’ विद्रोहका क्रममा सुरक्षाकर्मीको दमनबाट कम्तीमा १ हजार ४ सय प्रदर्शनकारीले ज्यान गुमाएका थिए । सोही दमनको आरोपमा हसिनालाई मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजायसमेत सुनाइसकेको छ ।

हसिना देश छाडेर भागेपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । बिहीवारको यस चुनावले बंगलादेशमा प्रतिनिधिमूलक शासनको नयाँ युगको सुरुवात गर्ने नागरिकहरूले आशा व्यक्त गरेका छन् । उनीहरूले यसपटकको मतदानलाई अधिनायकवादी शासनबाट पूर्ण लोकतन्त्रतर्फको प्रस्थान बिन्दुको रूपमा हेरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =