प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अस्ट्रेलिया भ्रमण

काठमाडौं । इजरायली राष्ट्रपति आइज्याक हर्जोग सिड्नी पुगेका छन् । उनको यो चार दिने अस्ट्रेलिया भ्रमण गत डिसेम्बरमा बोन्डी बीचमा भएको आतङ्कवादी हमलापछि यहुदी समुदायप्रति समर्थन जनाउने उद्देश्यले गरिएको हो । यद्यपि प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिका कारण यो भ्रमण विवादित समेत बनेको छ ।

अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार हर्जोगले एक विज्ञप्ति जारी गर्दै हमलापछिको परिस्थितिमा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्न र शक्ति प्रदान गर्न अस्ट्रेलियाभरका यहुदी समुदायहरूको भ्रमण गर्ने बताएका छन् ।

अस्ट्रेलियाका गभर्नर जनरल र प्रधानमन्त्रीको निमन्त्रणामा आएका हर्जोगले अस्ट्रेलियाली यहुदी समुदायका नेताहरूसँग प्रमुख सामुदायिक कार्यक्रमहरूमा भाग लिने र वरिष्ठ राजनीतिज्ञहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ । साथै प्यालेस्टिनीहरूप्रति इजरायलको नीति र कदमलाई लिएर केही अस्ट्रेलियाली समूह र सर्वसाधारणबाट हर्जोगको भ्रमणको विरोध भइरहेको छ ।

१ हजार भन्दा बढी अस्ट्रेलियाली यहुदीहरूले हर्जोगलाई यहाँ स्वागत छैन भन्दै एउटा खुला पत्रमा हस्ताक्षर गरेका छन् । हर्जोगले भ्रमण गर्ने तय भएका सिड्नी, क्यानबेरा र मेलबर्न लगायतका धेरै अस्ट्रेलियाली सहरहरूमा विरोध प्रदर्शनको योजना बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =