पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमण : दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

काठमाडौं । पूर्वी प्रशान्त महासागरमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशङ्का गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी दक्षिणी कमान्डका अनुसार सोमबार पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न रहेको भनिएको एक डुङ्गामाथि सेनाले कारबाही गरेको हो ।
सो कारबाहीमा दुई ‘नार्को–आतङ्ककारी’ मारिएको र एक जना जीवितै फेला परेको अमेरिकी सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ । उक्त डुङ्गा सूचीकृत आतङ्ककारी सङ्गठनहरूद्वारा सञ्चालित रहेको र लागुऔषध कारोबारमा प्रयोग भइरहेको कमान्डको दाबी छ ।
सेप्टेम्बर महिनाको सुरुदेखि यता क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाले शङ्कास्पद लागुऔषध तस्करीका डुङ्गाहरूमाथि कम्तीमा ३७ वटा हवाई तथा समुद्री आक्रमण गरिसकेको छ । यी शृङ्खलावद्ध आक्रमणहरूमा अहिलेसम्म १२० जनाको मृत्यु भइसकेको छ ।








