आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडे : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन् । उनले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरू नयाँ ठाउँ चहार्दै हिँडेको बताए । काठमाडौंमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने किन आँट नगरेको ? उनको प्रश्न छ ।

आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताए । झापाको गौरीगञ्जसँगको सम्बन्ध वि.सं. २०२६ सालदेखि नै रहेको स्मरण गर्दै उनले २६, २७, २८, २९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको बताएका हुन् । ३० सालमा जेल परेपछि केही समय आउन नपाएको तर ४७ सालको अन्तिमदेखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको बताए । उनले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको बताए ।

विकासका पूर्वाधारबारे चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलका कारण सफल भएको बताए । उनका अनुसार कन्काईको एउटा पुलबाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको छ । सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको दाबी गरे । यद्यपि वर्तमान आर्थिक अवस्था र पटक–पटकको सरकार परिवर्तनका कारण भत्ता बढाउन नसकिएकोमा उनले दुःख व्यक्त गरे ।

उनले भने, ‘अलि समय भएको थियो मैले यहाँहरूसँग भेट्न नपाएको । आज भेटघाट भएर खुसी लागेको छ । यद्यपि यो ठाउँसँगको मेरो सम्बन्ध धेरै पुरानो छ । म २६, २७ सालदेखि यस ठाउँमा आउने र सङ्गठन गर्ने गरेको हुँ । २६, २७, २८, २९ सालसम्म । ३० सालमा जेल परेपछि मैले यतातिर आउने मौका मिलेको थिएन । जेलबाट छुटेपछि केही समय मैले यता गाउँघरतिर आउने मौका मिलेको थिएन फेरि । ४७ सालको अन्तिमबाट फागुन चैतबाट म यो ठाउँमा आउन थालेको हुँ । यहाँहरूसँग भेटघाट भइरहेको छ र यहाँहरूले आफैँले भनिसक्नुभएको छ यो ठाउँमा ठुलो परिवर्तन आएको छ । म सांसद भएर गएपछि पार्लियामेन्टमा प्रतिपक्षमा थियौँ हामी त्यसबेला । लेराको पुल बनाउनुपर्छ भनेर लेराको पुलको माग मैले सधैँ राख्थेँ । म बोल्न उठेपछि मान्छेहरूले जिस्क्याउने स्थिति हुन्थ्यो लेराको पुल भन्न आँट्यो भनेर । लेराको पुल बनाउन धेरै गाह्रो भो । तर मैले मेची महाकाली नै हुलाकी बाटोलाई हुलाकी राजमार्गमा विकास गरेपछि लेराको पुलको गीत गाइरहनु परेन लेराको पुल आफैँ बन्यो । अहिले एउटा मात्रै पुलमा ठेकेदारले राम्रो काम नगरेर ठेक्का तोडिएको छ । अब त्यो पुल पनि बन्छ नै किनभने यो राजमार्गमा त्यो पुल नबनेर धर्य छैन पुल बन्छ नै कन्काईको पुल एउटा मात्रै पुल त्यहाँ बन्न बाँकी छ । अर्को कमलाको पुल माटोको परीक्षण र इन्जिनियरिङको गल्तीले गर्दा अलि भासिएको छ त्यसलाई पुनर्निर्माण गर्नुपर्नेछ । यस्ता एकाध ठाउँ प्राविधिक कारणले ठेकेदारको कारणले केही भएको होला । रतुवाको पुल चाहिनेभन्दा साघुरो र छोटो बनाएर त्यसलाई फेरि विस्तार गर्नुपर्यो । त्यो इन्जिनियरिङको त्रुटि हो । नत्र उहिले बनिसक्नुपर्ने थियो । यस क्षेत्रमा त्यस प्रकारका कतिपय कमीकमजोरीहरू ठेकेदारले गर्दिने इन्जिनियरले गर्दिने जस्ता कुराहरूले कामहरू ढिला भएको हो । तर पनि हामीले कामहरू पूरा गरेका छौँ पूरा गर्दैछौँ । गौरीगन्ज उहिलेको गौरीगन्ज म सम्झिन्छु । २६, २७ सालमा हेर्दाको गौरीगन्ज म सम्झिन्छु । आजको गौरीगन्ज त सेल्फी रोड भन्छन् नि सेल्फी रोड जस्तै छ । सेल्फी खिच्ने बाटो जस्तै छ गौरीगन्ज । गौरीगन्जमा देउरिया पुल बडो अप्ठ्यारो स्थितिमा थियो । एउटा काठे पुल उहिले बनाएको थियो त्यो पनि पुरानो । अहिले बम्बे चौडा त्यस्तो नयाँ पुल बनेको छ बाटो बनेको छ । र यस ठाउँमा पनि यस्तो बाटो बन्ला र यस्तो पक्की बाटो बन्ला र जस्तो थियो बनेको छ । पहिले पहिले यहाँ बिजुलीको कुरै थिएन । पालिकाहरूले त्यसबेला गाविस भन्थे म आउँदा गाविसले एक सेट भीएचएफ कि के भन्ने टेलिफोन हुन्थ्यो । त्यो एक लाइन पाउन भनेर निवेदन गर्नुहुन्थ्यो र त्यो एक लाइन जडान गर्दिनुपथ्र्यो । विभिन्न पालिकाहरूमा व्यक्ति व्यक्तिले पाउने त सम्भावनै थिएन । पालिकाहरूमा आज हात हातमा मोबाइल छ सबैसँग । ४ जी सेवा छ । संसारसँग कुरा गर्न सकिन्छ संसारसँग संसारको कुरो जानकारी लिन सकिन्छ । त्यो ठाउँमा हामी पुगेका छौँ । विद्यालयहरू क्याम्पसहरू अघि नै साथीले भनिसक्नुभयो । विद्यालय भवन निर्माण क्याम्पस भवन निर्माण देखि लिएर खानेपानीका ट्याङ्कीहरू बनाउने देखि लिएर अनेक प्रकारका कामहरू भएका छन् । हामीले ५१/५२ सालमा सुरु गरेको सामाजिक सुरक्षा भत्ता अघिल्लो पल्ट मैले ४ हजार पुर्याएको थिएँ । अहिले विभिन्न ढङ्गले सरकार फेरिने र त्यसले अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पारेको हुनाले त्यसलाई बढाउन सकिएको छैन । तर ठूलो सङ्ख्यामा ३७, ३८ अर्बभन्दा बढी रकम त्यसमा गइरहेको छ । ठुलो रकम हामीले त्यसमा खर्च गरिरहेका छौँ । ठूलो सङ्ख्याको मानिसहरूले त्यसबाट लाभ लिइरहनुभएको छ । ज्येष्ठ नागरिकहरू, एकल महिलाहरू, अपाङ्गता भएका व्यक्तिहरू, अशक्त अपाङ्गता भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिन पाएका छन् । हामीले सडकमा भिखमङ्गा सडक बालबालिका हुनुहुँदैन भनेर अभियान चलाएका छौँ । र पछाडि परेको समुदायलाई कसरी अगाडि बढाउने त्यस विषयमा पनि हामीले विभिन्न प्रयासहरू गरेका छौँ । अहिले म केही भन्न धेरै चाहन्न । हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन । त्यहाँ ढाँट्न सकिँदैन । काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न ? किन यहाँ आउँछ ? यो साथीहरूले बुझ्नुभएको छ, दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुभएको छ । अर्को कुरा अहिले म यसो अलिकति सुन्छु कता कता मधेसी पहाडी भन्ने कुरा पनि सुन्छु भित्र भित्र । त्यस्तो कुराहरू गर्नुहुँदैन हामीले । हामीले सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ । त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ ।’

अध्यक्ष ओलीले समाजमा सद्भाव बिथोल्ने प्रयासहरूप्रति सचेत गराए । मधेशी र पहाडीबीचको भेदभाव अन्त्य गरी सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =