नवलपरासीमा ‘घण्टी’ बज्नुअघि नै प्रशासनको साइरन

नवलपरासी । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राजनीतिक दलका गतिविधिमाथि निगरानी बढाएको छ । यसै क्रममा प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने भन्दै सचेत गराएको हो ।

रास्वपाले आज जिल्लामा आयोजना गर्न लागेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ लाई लक्षित गर्दै प्रशासनले सूचना जारी गरेको छ । उक्त सूचनामार्फत आचारसंहिताको परिधिभित्र रहेर मात्र गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख छ । निर्वाचन आयोगले गत माघ १४ गतेदेखि नै देशभर निर्वाचन आचारसंहिता २०८२ लागू गरिसकेको सन्दर्भमा राजनीतिक दलहरूलाई नियमको पालना गर्न गराउन प्रशासन सक्रिय देखिएको हो ।

जारी सूचनामा भनिएको छ, ‘२०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा हुने भनिएको कार्यक्रमबारे जानकारी प्राप्त भएको छ । सो कार्यक्रममा निर्वाचन आचारसंहिता २०८२ विपरीत हुने गरी कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई सूचित गरिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =