संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनकः सांसद विसी

काठमाडौं । नेकपा (एमाले)की सांसद सुमित्रा विसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा ढिलाई हुँदा मुलुकको विकास प्रक्रियामा असर परेको बताएकी छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले २०१३, २०२० र २०२९ सालमा बनेका कानूनका आधारमा मुलुक सञ्चालन अत्यन्त चिन्ताजनक विषय भएको बताइन् ।

आवश्यक कानून समयमा नबन्दा विकासका काममा प्रत्यक्ष बाधा पुगेको उनको भनाइ थियो । सांसद विसीले सार्वजनिक खरिद ऐन, वन ऐन, निकुञ्ज ऐन र शिक्षा ऐनलगायत महत्वपूर्ण कानूनहरू तत्काल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

उनले अन्तरमन्त्रालय तथा अन्तरसरकारी समन्वय सुदृढ हुनुपर्नेमा जोड समेत दिए । उनले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट प्रस्तुत हुन सके विकास प्रक्रियाले गति लिने पनि बताइन् ।

उनले नियमित अनुगमनका लागि आर्थिक स्रोत र जनशक्तिको अभाव रहेको उल्लेख गर्दै यथार्थ नबुझी जनतालाई गलत आश्वासन दिने प्रवृत्तिको अन्त्य आवश्यक भएको बताइन् ।

संसदीय समितिहरूले दिएका निर्देशन र सुझाव सबै मन्त्रालय तथा निकायले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था गरिनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =