यस्तो रहनेछ आज देशभरको मौसम, हिमपातको चेतावनी

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण मुलुकका विभिन्न भूभागमा बदली र हुस्सुको अवस्था देखिएको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल तराईका केही क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराईका अधिकांश स्थानमा भने हुस्सु र कुहिरो लाग्ने हुनाले जनजीवन केही प्रभावित हुन सक्ने देखिएको छ । विशेषगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि तराईका केही क्षेत्रमा हुस्सुको प्रभाव रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ ।

हिमपात र हुस्सुका कारण तापक्रममा गिरावट आउन सक्ने र चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । तराईमा लाग्ने कुहिरोले सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने देखिएकाले यात्री र चालकहरूलाई सावधानी अपनाउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =