आँधी लियोनार्डोका कारण दक्षिण स्पेनमा हजारौँको उद्धार

काठमाडौं । आँधी लियोनार्डोले निम्त्याएको मुसलधारे वर्षाका कारण दक्षिण स्पेनभर ३ हजारदेखि ५ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसमा क्याडिज प्रान्तको पहाडी सहर ग्राजालेमाका सबै बासिन्दाहरू समेत समावेश छन् । धेरै दिनदेखि परेको असाधारण भारी वर्षाले बाढी, पहिरो र संरचनात्मक क्षतिको जोखिम बढाएपछि स्थानान्तरणको आदेश जारी गरिएको थियो ।

अन्डालुसिया क्षेत्रका अध्यक्ष जुआन्मा मोरेनोले यो कदम सावधानीका रूपमा चालिएको बताउँदै बासिन्दाहरूलाई शान्त रहन र व्यवस्थित रूपमा स्थानान्तरण प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । लियोनार्डो आँधीका कारण अन्डालुसिया र एस्ट्रेमाडुराका धेरै ठाउँमा नदीहरूमा बाढी आएको छ । जसले गर्दा विद्यालयहरू बन्द भएका छन् ।

यातायात सेवा ठप्प भएको छ र अधिकांश रेल सेवाहरू स्थगित गरिएका छन् । मालागा प्रान्तमा बाढीले बगाएकी एक महिलाको खोजीमा उद्धार टोलीहरू खटिएका छन् । यो प्रतिकूल मौसमले छिमेकी राष्ट्र पोर्चुगललाई पनि असर गरेको छ । जहाँ अधिकारीहरूले बाढीका कारण कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =