बैतडी जन्ती बस दुर्घटनाका १३ मृतकको परिचय खुल्यो (नामावली)

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकामा गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । पुर्चौडी नगरपालिका-७, भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरको बस बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो ।
बिहीबार राति सडकबाट करिब २ सय मिटर तल खसेर बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र अन्य ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक सबैको सनाखत भइसकेको छ ।
मृतकको नामावली:
१. बिसनदत्त जोशी (१७ वर्ष) – बित्थडचिर-७, बझाङ
२. दीपक जोशी (२७ वर्ष) – बित्थडचिर-७, बझाङ
३. किसनदत्त जोशी (४५ वर्ष) – बित्थडचिर-७, बझाङ
४. केशवराज जोशी (४० वर्ष) – बित्थडचिर-७, बझाङ
५. अशोकराज जोशी (१३ वर्ष) – बित्थडचिर-७, बझाङ
६. बसन्त जोशी (३५ वर्ष) – बित्थडचिर-७, बझाङ
७. विष्णुदत्त जोशी (४१ वर्ष) – बित्थडचिर-७, बझाङ
८. नरेशराज जोशी (४२ वर्ष) – बित्थडचिर-७, बझाङ
९. केशवराज भट्ट (२६ वर्ष) – केदारस्युर-७, बझाङ
१०. मोहनदेव भट्ट (६० वर्ष) – केदारस्यु, बझाङ
११. बसन्तराज रतला (४० वर्ष) – जयपृथ्वी नगरपालिका-७, बझाङ
१२. सुशील जोशी (१४ वर्ष) – पुर्चौडी नगरपालिका-७, बैतडी
१३. नाम नखुलेका (अन्य १ जना, जसको अस्पतालमा मृत्यु भएको)
दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।
विवाह सम्पन्न गरी फर्किने क्रममा भएको यो हृदयविदारक घटनामा बेहुला र बेहुली भने अर्कै गाडीमा रहेकाले सुरक्षित रहेका छन् । तर, आफ्नै जन्ती टोलीका सदस्यहरूको निधनले विवाहको खुसीयाली सन्नाटामा बदलिएको छ ।
बस सडकको मोडबाट अनियन्त्रित भई खसेको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाग्रस्त बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।








