इजरायली आक्रमणमा गाजा पट्टीमा २१ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलका अनुसार इजरायली सेनाले बुधबार बिहानैदेखि गाजा सहर र दक्षिणी गाजाको खान युनिसमा भीषण आक्रमण सुरु गरेको थियो । खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा दुई महिला र एक प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी गाजा सहरको पूर्वी भेगमा पर्ने जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको ज्यान गएको छ । सो आक्रमणमा कैयौँ मानिस घाइते भएका छन् । जसमध्ये केहीलाई उपचारका लागि अल–शिफा मेडिकल कम्प्लेक्समा लगिएको छ । यसअघि खान युनिसको दक्षिणमा पर्ने किजान रशवान क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको थियो ।

स्थानीय प्रत्यक्षदर्शी मोहम्मद हमादाले इजरायली सेनाको आकस्मिक आक्रमणको निन्दा गर्दै सात दिनको नवजात शिशुले समेत ज्यान गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका छन् । हमासले इजरायली सैन्य कारबाहीलाई युद्धविराम सम्झौता र विद्यमान समझदारीको घोर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २०२५ अक्टोबर १० मा युद्धविराम लागु भएयता इजरायली आक्रमणमा परी ५५६ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने १ हजार ५ सयभन्दा बढी मानिस घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =