प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तीव्रता दिएको छ ।

आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तीव्रता दिएको जानकारी दिए ।

उनकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाई सुरु भएको छ । हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाईको काम सकिएको उनले जानकारी दिए ।

प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको जानकारी दिए । उनकाअनुसार गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ सुरु गरिएको हो ।

प्रत्यक्षतर्फ अब करिब दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ । मतदाता नामावली छपाइको काम पनि आगामी हप्तामा सकिने उनको भनाई छ ।

उनले भने, ‘हामीले यो हप्ता मतपत्र छपाई र मतदाता नामावली छपाईलाई प्राथमिकतामा राखेका छौँ । सम्भवतः आउने हप्तासम्ममा मतदाता नामावली छपाई पुरै सकिन्छ । मतपत्र छपाईको काम चाहिँ समानुपातिकतर्फको दुई करोड ८ लाख ३० हजार मतपत्र चाहिने थियो, त्यति मतपत्र सबै छापिसकियो । गएको हप्तादेखि प्रत्यक्ष तर्फको मतपत्र छपाईको सुरु भएको छ । हालसम्म २५ जिल्लाको ३० लाख मतपत्र चाहिँ प्रत्यक्ष तर्फको छापेर सम्पन्न भईसक्यो । अब बाँकी करिब दुई करोडमध्ये ३० लाख छापेर सकियो अब १ करोड ७० लाख छाप्ने हो । एक दिनमा १२ देखी १५ लाखको संख्यामा मतपत्र छापिन्छ । त्यो हिसाबमा हामीले टार्गेट मिट गर्छौ । हामी कार्यतालिका भित्रै छौँ ।’

उनले निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले निर्धारित कार्य योजनाअनुसार कामलाई तीव्र बनाउँदै लगेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =