काठमाडौँ–सोलु जोड्ने द्रुतमार्गको लागि संसद्मा आवाज उठाउँछु: असिम राई

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० सोलुखुम्बुका प्रतिनिधिसभा सदस्यका उम्मेदवार असिम राईले काठमाडौँ–सोलुखुम्बु जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि संसद्मा सशक्त आवाज उठाउने बताएका छन् ।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौँमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उनले काठमाडौँ–सोलुखुम्बु जोड्ने द्रुतमार्ग निर्माणको लागि निरन्तर सङ्घर्ष गर्ने बताएका हुन् ।
काठमाडौँदेखि खुम्बुसम्म द्रुतमार्ग निर्माण भएमा ५० लाख पर्यटक नेपाल भित्रिने बताए । यसले सोलुखुम्बु मात्र नभएर समग्र देशको आर्थिक विकासमा सहयोग गर्ने उनको भनाई छ । राईले आफू निर्वाचित भएर प्रतिनिधि सभामा पुगेमा जिल्लाका जनताको शिर उँचो हुनेगरी आफ्नो विधायिकाको भूमिका निर्वाह गर्ने बताए ।
उनले सोलुखुम्बुमा विकास निर्माणका धेरै काम अझै अधुरा रहेको उल्लेख गर्दै बाँकी कामलाई प्राथमिकतामा राख्ने जानकारी दिए । राईले सोलुखुम्बु जिल्लालाई राज्यले न्यायोचित दृष्टिले नहेरेको आरोप लगाए । सगरमाथा क्षेत्रबाट उठ्ने रोयल्टी राज्यले उपयोग गरे पनि हिमाल संरक्षण र स्थानीय विकासमा पर्याप्त ध्यान नदिएको उनको आरोप छ ।
उनले भने ‘जब हामी निर्वाचित भएर प्रतिनिधि सभमा आउँछौँ, तपाईँहरूको शिर निहुरिने छैन । तपाईँहरूको शिर उँचो हुनेगरि हामीले आफ्नो विधायिका भूमिका निर्वाह गर्नेछौँ । विकास निर्माणका अधुरा कामहरू सोलुखुम्बुका जनताहरूको छ । पुरा भएका कार्यक्रमहरूलाई हामी सम्मान दिँदै बाँकी कामहरू मेरा कार्यक्रम हुनेछन् । राम्रा कामहरूको हामी समर्थन गर्नेछौँ । सोलुखुम्बु जिल्ला भनेको एउटा विशेष जिल्ला हो । हामीले भन्छौ सगरमाथा हिमालको देश भनेर । राज्यले सोलुखुम्बु जिल्लालाई हेर्ने दृष्टिकोण वास्तवमा न्यायपुण छैन । त्यहाँको रोयल्टी राज्यले असाध्यै राम्रो तरिकाले उपयोग गर्छ । राज्यले लिन्छ, रोयल्टी । हिमाललाई बचाउनको लागी राज्यले गर्नुपर्ने धेरै कामहरू फिटिक्कै सोचेको छैन, गर्दैन । मलाई के लाग्छ, सगरमाथा बचे देश रहन्छ र विश्व रहन्छ । यो जिल्ला ऐतिहासिक छ र अन्तर्राष्ट्रिय छ । यो हिसाबले हामीले त्यहाँ धेरै काम गर्नुपर्ने छ । काठमाडौँबाट खुम्बुसम्म जोड्ने बाटो फास्ट ट्रयाक बनाउने हो भने एकै सिजनमा १५ लाख होइन ५० लाख पर्यटकहरू आउनेछन् । यसले सोलुखुम्बु जिल्लाको मात्रै भविष्य बन्दैन, सिङ्गो देशको आर्थिक उन्नति हुनेछ, यो हिसाबले म सांसदको रूपमा काठमाडौँ र खुम्बुलाई जोड्ने छिटो मार्ग, द्रुत मार्ग फास्ट ट्रयाकको लागी मैले आवाज उठाउने छु, सङ्घर्ष गर्नेछु ।’
उनले भारतीय पर्यटन सोलुखुम्बुका भित्र्याउनको लागी चतरादेखी खुम्बु जोड्ने दुधकोशी करिडोर बनाउन पनि पहल गर्ने बताए । उनले सोलुखुम्बुका सबै वडाबाट सदरमुकाम जोड्ने सडक निर्माण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय विकास, पर्यटन प्रवर्द्धन लगायतका कार्यलाई आफूले प्राथमिकतामा राखेको जानकारी दिए ।








