रास्वपा वरिष्ठ नेता बालेन शाहको निवासमा चोरीको आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को मण्डिखाटारस्थित निजी निवासमा चोरीको आशंका गरिएकाे छ । बालेन र उनकी धर्मपत्नी दुवैजना घरमा नभएको मौका छोपी अज्ञात समूहले घरको मूल ढोका (गेट)मा क्षति पुर्याएको हो ।
शुक्रबार साँझ शाहका आफन्त (मामा ससुराका छोरा) नियमित रेखदेखका लागि घर पुग्दा घटनाको रहस्य खुलेको थियो । घरमा बत्ती बाल्ने र बिरुवामा पानी हाल्ने जिम्मेवारी पाएका उनी हिजो साँझ मण्डिखाटार पुग्दा निवासको मूल ढोका फोडिएको अवस्थामा फेला परेको थियो । भित्र सामानहरू तितरबितर भएको देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गरे । उनकाअनुसार इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ । अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र महाराजगञ्ज प्रहरी वृत्तको संयुक्त टोलीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।








