इरान र अमेरिकाबीच तनाव उत्कर्षमा

इरानी सेनामा एक हजार नयाँ ड्रोन थप, हर्मुजमा सैन्य अभ्यासको तयारी

काठमाडौं । संयुक्त राज्य अमेरिकासँगको कूटनीतिक तथा सैन्य विवाद बढ्दै गएपछि इरानले आफ्नो सैन्य तयारीलाई तीव्र पारेको छ । सम्भावित बाह्य सैन्य कारबाहीको चेतावनी दिँदै इरानले हालै आफ्नो सेनामा एक हजार थान स्वदेशी रणनीतिक लडाकु ड्रोनहरू समावेश गरेको छ ।

इरानको यो पछिल्लो कदमलाई मध्य पूर्वमा बढ्दो तनावको प्रतिक्रियाका रूपमा हेरिएको छ । इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार इरानको इस्लामिक रिभोलुसन गार्ड्स कप्र्स (आईआरजीसी) ले विश्वकै महत्त्वपूर्ण तेल मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ मा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । उक्त क्षेत्रमा आईआरजीसीले ‘लाइभ-फायर’ सहितको अभ्यास गर्ने तयारी गरेको प्रेस टीभीले बताए ।

यी घटनाक्रमहरू यसै हप्ताको सुरुमा अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोतको नेतृत्वमा ‘स्ट्राइक ग्रुप’ परिचालन गरेपछि विकसित भएका हुन् । अमेरिकी सैन्य उपस्थितिलाई इरानले आफ्नो सुरक्षामाथिको चुनौतीका रूपमा लिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले एक विशाल ‘आर्मडा’ (युद्धपोतहरूको समूह) इरानतर्फ गइरहेको उल्लेख गर्दै तेहरानलाई सम्झौतामा पुग्नका लागि समय घर्किँदै गएको बताए । ट्रम्पले इरानले परमाणु सम्झौता वा अन्य क्षेत्रीय विषयमा नरम नीति नलिए गम्भीर परिणाम भोग्नुपर्ने संकेत समेत गरे । उनले इरानको गतिविधिलाई नजिकबाट नियालिरहेको र अमेरिकी स्वार्थको रक्षाका लागि पछि नहट्ने भने ।

अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार स्ट्रेट अफ हर्मुजमा हुन लागेको इरानी सैन्य अभ्यास र अमेरिकाको युद्धपोत परिचालनले यस क्षेत्रमा सैन्य मुठभेडको जोखिम बढाएको छ । इरानले आफ्नै प्रविधिमा निर्मित ड्रोनहरूको बढ्दो संख्यालाई आफ्नो रक्षात्मक शक्तिको मुख्य आधार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =