अस्ट्रेलियामा सार्वजनिक अस्पतालका लागि ५ वर्षीय बजेट सम्झौता

काठमाडौं । अस्ट्रेलियाका सङ्घीय र राज्य सरकारहरूबीच सार्वजनिक अस्पतालहरूको सुधारका लागि पाँच वर्षको ऐतिहासिक कोष सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत सङ्घीय सरकारले आगामी जुलाईदेखि २१९.६ अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले नयाँ पाँच वर्षीय सम्झौता अन्तर्गत सङ्घीय सरकारले सार्वजनिक अस्पताल र स्वास्थ्य सेवाका लागि कीर्तिमानी २१९.६ अर्ब अस्ट्रेलियन डलर (१५३.८ अर्ब अमेरिकी डलर) खर्च गर्ने घोषणा गरेका छन् । यो सम्झौता आगामी जुलाई महिनादेखि कार्यान्वयनमा आउनेछ ।
अल्बानिजका अनुसार यो रकम अघिल्लो सम्झौताको तुलनामा अतिरिक्त २५ अर्ब अस्ट्रेलियन डलर (१७.५ अर्ब अमेरिकी डलर) बढी हो । यो सम्झौतासँगै लामो समयदेखि चल्दै आएको वार्ताको अन्त्य भएको छ । यसअघि डिसेम्बर महिनामा राज्य र क्षेत्रीय सरकारहरूले २३ अर्ब अस्ट्रेलियन डलरको प्रश्तावलाई अस्वीकार गरेका थिए ।
अस्ट्रेलियन मेडिकल एशोसिएशनले यस सम्झौताको स्वागत गरेको छ । तर केवल कोषले मात्र नभई प्रणालीगत सुधार बिना खस्कँदो कार्यसम्पादन रोक्न नसकिने चेतावनी समेत दिएको छ ।








