मधेसबाट चुनाव लड्ने निर्णय विकल्प नभई चाहना: गगन थापा

सर्लाही । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमुना बनाउने बताएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–७ मा बजार विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा थापाले आफूले निर्वाचन लडेको क्षेत्रलाई पाँच वर्षमा मधेस प्रदेशकै नमुना बनाएर देखाउने प्रतिबद्धता व्यक्त गरे । मधेसबाट चुनाव लड्ने निर्णय आफ्नो विकल्प नभई चाहना भएको थापाको भनाइ थियो । पहाड र सहर बुझेको आफूले तराई बुझ्नु अति आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले मधेस पढ्न आएको बताए ।
थापाले सोमबारदेखि आफूले उम्मेदवारी दिएको सर्लाही–४, मा घरदैलो कार्यक्रम गरिरहेका छन् । देश विकास आजको आवश्यकता रहेको भन्दै उहाँले त्यसका लागि चाहिने स्रोत र जनशक्ति नेपालमा रहेकाले अब दृढ इच्छा शक्ति भएको काँग्रेस नेतृत्वमा रहन आवश्यक भएको बताए । जेनजी आन्दोलनको जनादेश अनुसार पार्टीभित्रैबाट सङ्घर्ष गरेर पार्टीको नेतृत्व तयार भएको उनको भनाइ थियो । पार्टीमा जेनजीको योगदान पुरानो रहेको उल्लेख गर्दै सभापति थापाले सहिद दुर्गानन्द झाको योगदानबारे चर्चा गरे ।
“झाले १८-१९ वर्षको उमेरमा देश र पार्टीका लागि गरेको योगदान अमूल्य छ । गत भदौ २३ र २४ गतेको घटना नागरिकको कुरा नसुन्ने र देशमा व्याप्त भ्रष्टाचार तथा बेथिति विरुद्धको आन्दोलन थियो”, थापाले भने ।









