पार्टी नफुटोस् भनेर मध्यमार्गी धार रोजेँ: डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई विभाजनबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ को सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले पार्टीलाई सुरक्षित राख्न शान्त र सौम्य बाटो रोजेको स्पष्ट पारे ।

प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै नेता कोइरालाले निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने दाबी गरे । विशेष महाधिवेशनमा सहभागि नभएको विषयमा प्रष्ट्याउँदै उनले भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हुँ ।’

विशेष महाधिवेशन पार्टीको आन्तरिक प्रक्रिया भएको उल्लेख गर्दै उनले अब त्यस विषयमा फर्केर नजान आग्रह गरे । ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा. डिला संग्रौला) जी र म एकै ठाउँमा छौं, निर्वाचनको दौडमा सँगै हिँडिरहेका छौं,’ उनले भने, ‘त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं ।’

जेनजी आन्दोलन अघि आफू सांसदको हैसियतमा रहँदा नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने काममा केन्द्रित रहेको उनले बताए । ‘सांसद रहँदा संसदमा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा निरन्तर बोलेँ,’ उनले भने, ‘संसदभित्र र बाहिर दुवै ठाउँबाट लडिरहेँ ।’

नेता कोइरालाले सो क्षेत्रका जनताको शिर राष्ट्रिय राजनीतिमा कहिल्यै झुक्न नदिएको दाबी गर्दै पार्टी फुटाएर होइन, जोडेर निकास दिनु अहिलेको उत्तम विकल्प भएको बताए । पार्टीलाई एकढिक्का बनाएर निर्वाचनमा लैजाने दायित्व आफूहरूको भएको र त्यसकै लागि मध्यमार्गी बाटो रोजेको उनको भनाइ छ ।

कार्यकर्ता भेटघाटका क्रममा उनले विगतमा पार्टीभित्र भएका कमजोरी स्वीकार गर्दै अब सबै ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । निर्वाचनले मुलुकलाई निकास दिने विश्वास व्यक्त गर्दै उनले यसपटक कांग्रेसलाई जिताउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =