अध्यक्ष ओलीको आग्रह- धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।
बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गरे । नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न आग्रह गरे । उनले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा साहले के गरेका छन् ? भन्दै प्रश्न गरे ।
साहले काठमाडौंका सुकुम्वासीहरूको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरूले आफूलाई झापाबाट पनि भगाउने हुन् कि भन्ने डर पैदा भएको गुनासो गरेको बताए । हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभई स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने बताए । उनले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभई देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताए ।
उनले भने, ‘हामी बहुमत ल्याउने, सांसद बन्ने, मन्त्री, प्रधानमन्त्री बन्ने त्यसका लागि बल गरिरहेका छैनौँ । यो देश जोगाउनका लागि, यो देशमा शान्ति, सुव्यवस्था कायम गर्न, यो देशमा सुशासन र विकास ल्याउनका लागि, यो देशमा संविधानलाई ट्रयाकमा ल्याउनका लागि, यो देशमा लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढ बनाउनका लागि आज हामी संघर्ष गरिरहेका छौँ । हाम्रा युवाहरूले बुझ्नुपर्दछ । हाम्रा दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुपर्दछ । पोहोर परार २०६४ सालमा एक पटक चल्यो । २०६४ सालमा एमालेलाई धेरै पटक भोट दियौँ अब एक पटक नयाँलाई भनेर । नयाँलाई भोट दिइसकेपछि त्यसको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न अरु केही गर्दा । २०६४ देखि न एक सिन्का विकास भयो । न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिँदैन । विकास हुँदैन । जसले गर्दा विकासको काम फेरि पछाडि पर्यो । अहिले पनि म अलिअलि सुन्छु नयाँ । नयाँ को भन्दा चिनेको जानेको छैन । बैंकले नोट छाप्दा धितो जमानी बिना छाप्दैन । यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्नुहुन्छ ? खोज्दै कहाँ जानुहुन्छ, घर देख्नुभएको छ ? हामी त कमसेकम के भन्न सक्छौँ भने मैले यहाँ खुसीसाथ आएका उम्मेदवारको यो ठाउँमा केही पनि छैन । राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उनले यहाँ के गर्ने ? उनको घरअघिको बाटो मैले पक्की बनाइदिएको छु । मैले उनको घरअघिको बाटोमा पुल हालिदिएको छु । उनको महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटियानीबाट जनकपुर जाने बाटोमा त्यहाँ पुल हालिदिएको छु । हामी त गर्छौँ त । कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन । सुकुम्बासी साथीहरूले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । को-को मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए ।’
अध्यक्ष ओलीले बालेन्द्र साह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने बताए । सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।








