माधवकुमार नेपालको उम्मेदवारी खारेजको माग गर्दै उजुरी दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेजको माग गर्दै उजुरी दर्ता गरिएको छ ।
रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।
पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भई निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार निर्वाचन लड्न अयोग्य हुने भएकाले उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी दर्ता गरिएको यादवले बताएका छन् ।
यसैबीच विशेष अदालत काठमाडौंले नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फाइल झिकाउन आदेश दिएको छ ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई आयुर्वेदिक विश्वविद्यालय सञ्चालन गर्ने प्रयोजनका लागि काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा खरिद गर्न स्वीकृति दिएको थियो । त्यसपछि पतञ्जलिले बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकका साँगा, नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) क्षेत्रमा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेको थियो ।
तर पछि मन्त्रिपरिषद्कै निर्णयबाट भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरिएको अख्तियारको दाबी छ ।
भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालनका लागि भन्दै हदबन्दी छुटमा खरिद गरेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिको प्रतिवेदनले पनि ठहर गरेको छ ।








