२ हजार ६५५ जनाले गराए उम्मेदवारी दर्ता, महिला उम्मेदवार ३०३ मात्र

काठमाडौँ । अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त संख्यामा उम्मेदवारी दर्ता भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो संख्या बढ्न सक्ने बताए । उनकाअनुसार मनोनयन दर्ता गराउने महिलाको संख्या एकदमै न्यून रहेको छ । उनले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेको समेत बताए ।
उनले उम्मेदवारहरूको प्रारम्भिक नामावली मंगलवार साँझ ८ बजेभित्र प्रशासन हुने समेत जानकारी दिए ।
उनले भने ‘कतिपय जिल्लामा अहिले पनि मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्य जारी रहेको छ । हामीले केहीबेर अघिसम्मको तथ्यांक लिएर उपस्थित भएका छौँ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त तथ्यांकअनुसार अहिलेसम्म जम्मा २ हजार ६ सय ५५ जनाले मनोनयन दर्ता गराउनुभएको छ । जसमध्ये पुरुषहरू २ हजार ३ सय ५२ जना रहनुभएको छ भने महिलाहरूको संख्या ३ सय ३ जना रहेको छ । यो संख्या केही बढ्न सक्ने छ । आज मनोनयन दर्ता गर्ने उम्मेदवारहरूको सन्दर्भमा मनोनयन दर्ता गर्दा निरन्तर चलिरह्यो भने ८ पनि बज्न सक्ला । ८ बजेभित्रमा उम्मेदवारको प्रारम्भिक सूचि प्रकाशन गर्ने कार्यसूची रहेको छ ।’
उनले बुधवार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूची रहेको जानकारी दिए ।








