ठगीका मुद्दाबारे रवि भन्छन्– जनताको मुद्दा बोकेर हिँडेको मान्छे, लड्दै गरौँला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफू जनताको मुद्दा बोकेर हिँडेको दाबी गर्दै आफूमाथि लागेका मुद्दाको कुनै प्रवाह नभएको टिप्पणी गरेका छन् ।

सोमवार जनकपुरधाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् ।

उनले गत निर्वाचनमा चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसदबाट बाहिरिनुपरेको बताए । उनले आसन्न निर्वाचनबाट रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने दाबी पनि गरे ।

उनले जनताको समर्थन नै आफ्नो सबैभन्दा ठुलो शक्ति भएको दाबी गर्दै पार्टीले परिवर्तनका लागि सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने ‘जब चितवनका जनताले मलाई अत्याधिक भोट दिएर मलाई पठाएका थिए । छलछाम गरेर मलाई संसदबाट निकालियो । हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ । मेरो टाउकोमा लागेका मुद्दाहरूको कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ । मलाई प्रवाह छैन । जनताको मुद्दा बोकेर हिँडेको मान्छे लड्दै गरौँला, जित्दै गरौँला, हारे हारिन्छ, जिते जितिन्छ ।’

उनले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र आफूबीच पाँच मिनेटमै एकताको टुङ्गो लागेको दाबी पनि गरे । उनले सबैलाई वर्ग र समुदायका समस्याको सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै आउँदो चुनावमा बहुमतले जिताइदिन मधेसवादीलाई आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =