पाँच वर्षको लागि मौका दिनुस्, विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौंः कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरूलाई दिन आग्रह गरेका छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए ।
उनले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गरे । आगामी निर्वाचनलाई ऐतिहासिक रूपमा लिनुपर्ने उनको भनाई छ । उनले पाँच वर्षको आफूहरूले काम देखेपछि फेरि जनताले आफैँलाई नै खोज्ने दाबी पनि गरे ।
उनले गर्ने सक्ने कामको मात्रै प्रतिबद्धता जनाउनुपर्ने बताउँदै आफूले बालेको कुरा सधैँ पूरा गरेको पनि दाबी गरे । जनतालाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उनको भनाई छ । उनले फागुन २१ गते हुने निर्वाचनमा आफूहरूलाई विश्वास गरेर हेर्न आग्रह गरे ।
उनले भने ‘अव हामी देशको समृद्धितर्फ अगाडी बढ्नुपर्नेछ । देशको समृद्धिको लागी नेतृत्वको जरुरी पर्छ । नेतृत्वको लागि आगामी निर्वाचन धेरै नजिक आएको छ । आगामी निर्वाचन, फागुन २१ को निर्वाचन नयाँ नेतृत्व, सही नेतृत्वलाई छनौट गर्ने एउटा महाअभियानको रूपमा तपाईँहरूले लिनुहोला भन्ने म हार्दिक आग्रह गर्दछु । यो इतिहासको एकदमै ठुलो, एकदमै महत्त्वपूर्ण अवसरको रूपमा लिनुहोला । यो अवसर गुमायौँ भने फेरि पनि नेपाल पुरानै परिस्थितिमा फर्किन सक्दछ । मैले कहिले पनि कसैलाई धोका दिएको छैन । धोका दिने पनि छैन । जे बोल्छु, त्यो गर्छ । जे गर्छु, त्यही बोल्छु । हिजोको दिनमा जे बोलिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो बोलिँदैन । त्यो भएको हुनाले यो डेलिभरी गर्नुपर्ने, परिणाम दिनुपर्ने कुरा छ, त्यो परिणाम दिनको लागि सही नेतृत्व आवश्यक छ । तपाईँहरूले अब आगामी ५ वर्षको लागि तपाईँहरूले एउटा अवसर दिनुहोस् । त्यो अवसर हामीले देशको समृद्धिको लागि नेपाली जनताको मन मस्तिष्कमा उज्यालो छाउनको लागि, गरिबी हटाउनको लागि र विदेशमा गएर टन्टलापुर घाममा काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागी हामी प्रतिबद्ध भएर लाग्नेर्छौँ । ५ वर्ष भित्र एउटा यस्तो परिणाम दिनेछौँ र त्यसपछिको सरकार, नेतृत्व तपाईँहरू नै आउनुस् भनेर तपाईँहरूले नै भन्ने वातावरण हामीले बनाउनेछौँ ।’
उनले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरूको उदय भए देश झन् अधोगतितिर जाने बताए । देशलाई सही ट्र्याकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उनको भनाई छ ।








