रूख चिन्ह लिएर आउने नै मेरो उम्मेदवार : सभापति थापा (भिडिओ)

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम संघारमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक विवाद र गुटगत असन्तुष्टिलाई थाती राख्दै एक ढिक्का भएर चुनावमा होमिन अपिल गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले पार्टीको आधिकारिक उम्मेदवारका पक्षमा उभिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
भोलि (मंगलबार) उम्मेदवारी दर्ता गर्नुपर्ने संवैधानिक बाध्यता र समयको चर्को चापका बीच सोमबार दिनभरमा उम्मेदवार चयन प्रक्रिया टुंग्याइने उनले जानकारी दिएका छन् । विशेष महाधिवेशनपछि तीन धारमा विभाजित देखिएको कांग्रेसभित्रको शक्ति संघर्ष उत्कर्षमा रहेकै बेला सभापति थापाले विपक्षी समूहलाई पनि समेट्ने प्रयास गर्दा निर्णयमा ढिलाइ भएको स्वीकार गरेका छन् । पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेको विषयलाई थापाले ‘कानुनी परीक्षण’ को संज्ञा दिए ।
भिडियो सन्देशमा थापाले भनेका छन्, ‘निर्वाचन आयोगपछि पनि पार्टीका केही साथीहरूले चित्त नबुझेर कानुनी परीक्षण खोजिराख्नुभएको स्थिति छ । ती साथीहरूलाई पनि समेटेर लैजाऔं भनेर हिजो साँझसम्म मेरो प्रयास रह्यो, जसको कारणले अहिले समयको एकदमै चाप परेको छ ।’
विधानतः तल्लो तहबाटै उम्मेदवार छानिन् पर्ने मान्यता राख्ने थापाले अहिलेको परिस्थितिमा केन्द्रबाट उम्मेदवार तोक्नु आफ्नो रहर नभई बाध्यता भएको प्रस्ट्याएका छन् । ‘केन्द्रले छान्ने भन्ने कुरा नै गलत हो, तर हामी एउटा विशिष्ट अवस्थामा आइपुग्यौं,’ थापाले भने, ‘१६५ निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस आइसकेको र हाम्रो हात बाँधिएको अवस्थामा समयको चापले गर्दा केन्द्रबाटै निर्णय लिनुपरेको हो ।’








