देउवा पक्षलाई टिकट दिन सभापति गगन थापा तयार, रिट फिर्ता लिनुपर्ने सर्त !

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक शक्ति संघर्ष र गुटगत विवादकै बीच आगामी निर्वाचनका लागि उम्मेदवार चयनको प्रक्रिया तीव्र पारिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भोलि (मंगलबार) मनोनयन दर्ता गर्नुपर्ने संवैधानिक बाध्यताका कारण पार्टीका शीर्ष नेताहरू आजै टिकटको टुंगो लगाउन निर्णायक छलफलमा जुटेका हुन् ।

विशेष महाधिवेशनपछि तीन धारमा विभाजित देखिएको कांग्रेसभित्र गगन थापा, शेरबहादुर देउवा र शेखर कोइराला समूहबीच शक्ति सन्तुलन मिलाउन सकस भइरहेको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको समूहले टिकट वितरणका लागि अन्य दुई समूहसामु कडा सर्त अघि सारेको छ ।

निर्वाचन आयोगले दिएको आधिकारिकतालाई चुनौती दिँदै देउवा र कोइराला पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट अहिले विवादको मुख्य जड बनेको छ । संस्थापन (गगन) पक्षले आफ्नो हस्ताक्षर भएको टिकट लिएर निर्वाचनमा जाने हो भने विशेष महाधिवेशनलाई स्वीकार गर्नुपर्ने र अदालतको मुद्दा फिर्ता लिनुपर्ने अडान राखेको छ । ‘एकातिर सभापतिको वैधानिकतालाई अस्वीकार गर्दै अदालत जाने, अर्कोतिर तिनै सभापतिको हस्ताक्षर भएको टिकट लिएर चुनाव लड्ने कुरा नैतिक रूपमा सुहाउँदैन,’ गगन समूहका एक नेताले भने, ‘टिकट लिने हो भने विशेष महाधिवेशनको नेतृत्वलाई आधिकारिक रूपमा स्विकार्नै पर्छ ।’

यद्यपि, यो सर्तमा देउवा र कोइराला पक्षले हालसम्म कुनै ठोस प्रतिक्रिया जनाइसकेका छैनन् । विवाद समाधान गरी साझा उम्मेदवार तय गर्न आइतबार रातिदेखि नै दोस्रो तहका नेताहरू सक्रिय छन् । छलफलमा गगन समूहबाट मधु आचार्य र देवराज चालिसे, देउवा समूहबाट रमेश लेखक तथा शेखर कोइराला पक्षबाट मिनेन्द्र रिजाल खटिएका छन् । सोमबार बिहानैदेखि जारी बैठकमा टिकट भागबण्डा र कानुनी अड्चन फुकाउने विषयमा सघन मन्थन भइरहेको छ ।

सैद्धान्तिक र कानुनी विषयमा कुरा मिल्न बाँकी रहे पनि उम्मेदवारको मापदण्डमा भने नेताहरूबीच केही समझदारी बनेको छ । स्रोतका अनुसार, निवर्तमान सांसदहरू र कुनै पनि विवाद वा भ्रष्टाचारको आरोप नलागेका ‘स्वच्छ’ छवि भएका व्यक्तिहरूलाई प्राथमिकता दिने विषयमा सबै पक्ष सकारात्मक देखिएका छन् । मंगलबार मनोनयनको समयसीमा रहेकाले आज साँझसम्म कसरी हुन्छ सहमति जुटाएर टिकट वितरण गर्ने तयारीमा नेताहरू लागिपरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =