यसकारण पाएनन् योगेश र गोकुलले टिकट

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम टुंगो लगाउँदा पार्टीका दुई प्रभावशाली नेताहरू ‘रिङआउट’ भएका छन् । ताप्लेजुङबाट पार्टी उपमहासचिव योगेश भट्टराई र काभ्रे-२ बाट पूर्वमन्त्री गोकुल बास्कोटाले टिकट नपाउने निश्चित भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार यी दुवै ‘हेभीवेट’ नेताहरूको सट्टा नयाँ र स्थानीय स्तरमा पकड जमाएका अनुहारलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेका छन् । शनिबार बसेको सचिवालय बैठकले यी दुई क्षेत्रको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

ताप्लेजुङमा एमालेले राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाएको छ । २०७४ र २०७९ मा लगातार ताप्लेजुङबाट सांसद निर्वाचित भएका उपमहासचिव भट्टराईको टिकट काटिनुमा जिल्लाको आन्तरिक विवाद मुख्य कारण बनेको छ ।

एमालेका एक उच्च नेताका अनुसार, पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद उत्कर्षमा पुगेपछि भट्टराईलाई जिल्ला प्रवेश गर्न र कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत असहज परिस्थिति सिर्जना भएको थियो । जनस्तरको विरोध र जिल्लाको प्रतिकूल सुरक्षा अवस्थालाई विश्लेषण गर्दै अध्यक्ष ओलीले भट्टराईलाई जोखिममा नपारी युवा नेता थेवेलाई अघि सारेका हुन् । थेवे गत महाधिवेशनबाट युवा संघको अध्यक्षमा निर्वाचित भएका थिए ।

यता काभ्रे-२ मा अघिल्लो प्रतिकूल समयमा पनि चुनाव जितेर आफ्नो साख जोगाएका गोकुल बास्कोटालाई यसपटक आफ्नै कार्यकर्ता भारी परेका छन् । जिल्ला र निर्वाचन क्षेत्रबाट उनको नाम एकल सिफारिस भए पनि अध्यक्ष ओलीले धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई टिकट थमाएका छन् ।

स्रोतका अनुसार, जिल्लाका एमाले कार्यकर्ता र विशेषगरी युवा पंक्तिले बास्कोटाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै विरोध गरेका थिए । आफ्नै कार्यकर्ताहरूको घेराबन्दी र बढ्दो असन्तुष्टिका कारण जित्न गाह्रो हुने निष्कर्ष निकाल्दै एमालेले दुई पटक मेयर भइसकेका ब्याञ्जुलाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =